पर्वतमा चार जलविद्युत् आयोजना निर्माण हुँदै

पर्वतमा चार जलविद्युत् आयोजना निर्माण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – पर्वत जिल्लामा चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन छन् ।

पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी दुई र मध्यमोदी जलविद्युत् आयोजना र पैयुँ गाउँपालिकास्थित सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाले धमाधम काम गरिरहेका छन् । तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव एक मेगावाट, तल्लो मोदी दुई आयोजना १० मेगावाट र सेतीखोलामा साढे तीन मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।

मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नुपर्ने हो । सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका कारण तोकिएको समयमा चार्ज हुन नसकेको आयोजनाले जनाएको छ । अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए।

शुरुमा रु तीन अर्ब ५० करोड खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइलगायत कारणले आयोजनाको लागत बढेको छ । यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रोपावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७० असार ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करीब रु दुई अर्ब ८० करोड लाग्ने अनुमान छ ।

आयोजनाबाट विसं २०७५ मङ्सिरमा नै विद्युत् उत्पादन गर्ने तालिका भए पनि भूकम्प नाकाबन्दीलगायतका कारणले उत्पादन अवधि थप भएको थियो । कुनै अवरोध नभए यो आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ ।

पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । यो तल्लो मोदी–१ को क्यासकेड आयोजना रहेको निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । कम्पनीले यो आयोजना अघि बढाउन विसं २०७४ मा उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो ।

निर्माणाधीन मोदी बेसिनका तीन आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिने बताइएको छ । यसैगरी सेतीखोलामा पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सेतीखोला जलविद्युत् आयोजनाले विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको थियो । उक्त आयोजनाको कामले यो वर्ष गति लिएको छ । चार दशमलव ७३ मेगावाटको भुरुङदी खोला साना जलविद्युत् आयोजना भने अध्ययनकै क्रममा छ । यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो ।

मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका तीन जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४ दशमलव आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदी–१ र एक मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका छन् । त्यस्तै सुपर मोदी र अपर मोदी पनि निर्माणको प्रक्रियामा रहेका छन् ।