काठमाण्डु – मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ ।
आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै आज शनिबार काठमाण्डुस्थित सुन्दरीजलमा आइपुग्ने भएको हो ।
यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पनी हालिएको थियो । आज पानी आउने भएपछि अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सुनदरीजल जाने भएका छन् ।
उनी आज अपराह्न ४ बजे सुन्दरीजल जाने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।
सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।
सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यसका लागि अझै केही समय फर्खिनु पर्नेछ ।
यसअघि पनि गत असार २९ गते नै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।
यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डु उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाण्डु उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।




प्रतिक्रिया