काठमाण्डु – नेकपा एमाले दर्ता गराएकी सन्ध्या तिवारीले सर्वोच्च अदालतले गरेको फैसला आफुले स्वीकार गर्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता विवाद समाप्त गर्दै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी गरेको फैसलाको स्वागत गर्ने बताएकी हुन् । तिवारीले आगामी दिनमा निर्वाचन आयोगको निर्देशनलाई स्वीकार गरी अगाडि बढ्ने समेत उल्लेख गरेकी छन् ।
तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बने पनि २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको थियो । तर, एमाले र माओवादी एकता भएपछि नेकपा एमाले दर्ता गराएकी तिवारीले अब आफूले एमालेमा दाबी नगर्ने बताएकी छन् ।
अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि अहिले सन्ध्या तिवारीको नेतृत्वमा रहेको एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्रको नाम दर्ता छ । सर्वोच्चको उक्त फैसलापछि यी दुवै समूहले पार्टीको नाम फेर्छन् वा अदालतको ढोका ढक्ढकाउँछन् भन्ने प्रश्न जनमानसमा उब्जेको छ । तेस्रो विकल्प भनेको किराँती प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र तिवारी ओली नेतृत्वको एमालेमा समाहित हुने हो ।
अदालतको फैसलामा आफ्नो पार्टीको कुनै गुनासो नभएको भन्दै उनले अब पार्टीको नाम फेर्ने प्रकिया अगाडी बढाउने बताइन् । ‘हाम्रो आफ्नै विचार छ, संगठन छ, त्यसैले छुट्टै अगाडि बढ्छौं,’ उनले भनिन्, ‘पार्टीको नाम फेर्ने प्रक्रिया अगाडि बढाउँनेछौं ।’
यस विषयमा छलफल गर्न आज उनको समूहको वैठक बसेको थियो । वैठकमा नाम फेर्नेबारे छलफल भएको तर नयाँ नाम प्रस्तावित नभइसकेको तिवारीले बताइन् । त्यस्तै अदालतको फैसलापछि ओलीले पनि पूर्व एमालेको बैठक बोलाउने बताइसकेका छन् ।
नेकपामा आन्तरिक संघर्ष बढेर जाँदा केपी ओलीले नै सन्ध्यालाई एमाले दर्ता गर्न लगाएको आरोप प्रचण्ड–माधव नेपाल समूहले लगाएको थियो । यस्तो आरोपलाई ओलीले पूरै इन्कार गर्न सकेका थिएनन् । तिवारीको एमालेलाई निर्वाचन आयोगले उदाउँदो सूर्य चिन्ह दिएको थियो ।




प्रतिक्रिया