मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन विभागको निर्देशन

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन विभागको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ ।

निर्देशनअनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ ।

विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारी समेत दिएको छ ।

त्यसैगरी विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ ।