काठमाण्डु- नेकपा औपचारिक विभाजन भएसंगै सत्तारुढ दल एमाले र जनता समाजवादी पार्टीबीच नयां सत्ता समिकरणको लागी छलफल सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएसंगै एमाले र माओवादी केन्द्र अलग अलग भएका थिए । दुवै पार्टी विभाजनभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमत पर्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनमा निकट नेताहरुले नयां सरकार गठनका लागी जनता समाजवादीसंग मंगलवारबाट छलफल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने विषयमा जसपाभित्र समेत दुई फरक लाईन देखा परेको छ ।संसदमा ३२ सिट रहेको जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लालगायत नेता प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने पक्षमा छन् । तर, उपेन्द्र यादव बावुराम भट्टराई र इस्तियाक राईलगायत नेता भने प्रधानमन्त्री ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन् ।
सत्ता साझेदारीका लागी दुवै पार्टीले कार्यदल गठन गरेर छलफल समेत सुरु भइसकेको छ । उक्त कार्यदल गठनको विषयमा भने पार्टीका अरु नेताहरु भने बेखवर रहेको स्रोतको दावी छ । माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री ओलीलाई १८ जना सांसदको आवश्यकता पर्ने हुन्छ । जसपाले उनलाई समर्थन गरेसंगै सरकारको निरन्तरता हुने अवस्था छ ।
यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासंग छलफल सुरु गरेका छन् ।




प्रतिक्रिया