काठमाण्डु – विभिन्न सहकारीको बचत रकम हिनामिना आरोप लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईले गोरखा मिडिया प्रालि र ग्यालेक्सी टीभीमा रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नभएको बताएका छन् ।
फरार रहेकै अवस्थामा सञ्चारमाध्यमलाई प्रेस नोट पठाएर उनले आफू नेपाल आएर बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
‘ग्यालेक्सी टीभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ र यसरी आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकहरूको कुनै पनि संलग्नता रहेको छैन । साथै कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरूपयोग भए असावधानीवश नाम दुरूपयोग भएको हुनसक्छ । त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ,’ प्रेस नोटमा उल्लेख छ, ‘गोर्खा मिडिया नेटवर्क मेरो हो । म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन । समाधानको जिम्मेवारी पनि मेरो हो । त्यसैगरी रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित होइन भन्ने मेरो बुझाइ छ ।’
सहकारीसँग जोडिएर अनावश्यक रूपमा पीडित भएका पूर्वसञ्चालकहरू, केही वर्तमान सञ्चालकहरू, सम्पूर्ण कर्मचारी र शुभचिन्तकसँग उनले क्षमायाचना व्यक्त गरेका छन् ।
उनले वर्तमान सरकारको काम–कारबाहीले आफू सार्वजनिक हुने हिम्मत दिलाएको बताउँदै सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । ‘वर्तमान सरकारको काम–कारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ । म जीवनभर लुकेर, भागेर हिँड्न चाहन्न । साथै, आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न,’ उनले भने, ‘के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन । म आफैँ उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु ।’
आफूलाई पक्राउ गरेर मात्रै बचतकर्ताको रकम फिर्ता नआउने तर्क उनले गरेका छन् । ‘सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति–संयन्त्र प्रयोग गर्न पर्दैन । म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायहरूको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु । वास्तविक समाधान कसैलाई दोषी देखाएर मात्र सम्भव हुँदैन । तर अहिले वर्तमान सरकारले बचतकर्ताहरूको बचत सुरक्षित गर्नका लागि जुन किसिमका पहल र कदमहरू अगाडि बढाएको छ, त्यो स्वागतयोग्य र सकारात्मक प्रयास हो,’ प्रेस नोटमा उल्लेख छ, ‘मलाई त यस देशको इतिहासकै सबभन्दा ठूलो अपराधी भनेर मिडिया र समाजले एकोहोरो प्रमाणित गरिसक्यो । तर मैले हिम्मत हारेको छैन । राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो । राज्यले चाह्यो भने यो सब मिल्न सक्छ । बचतकर्ताले रकम फिर्ता पाउन सक्छन् । म सरकारसँग सहकार्य गर्न चाहन्छु । त्यसको सुरूआत स्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु । आवश्यकता परे त्यहीँ सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु ।’
सरकारले पछिल्लो समय सहकारीको बचत फिर्तालाई प्राथमिकता दिँदै यस्ता मुद्दा र विवादमा मिलापत्र गर्न सकिने विकल्प ल्याएको छ ।


प्रतिक्रिया