काठमाण्डु – माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले जन्मेको बच्चालाई फेरी आमाको पेटमा लगिदिएको बताएका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेर माओवादी केन्द्र र एमाले नै कायम हुने फैसला सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।
शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अनौठो परिघटनाहरु भइरहेकाले फेरी अनिष्ठ हुने संकेत देखा परेको बताएका छन् ।
‘रिल्याक्स गरे हुन्छ भन्ने स्थिति छैन् । अहिलो पनि त्यो षड्यन्त्र जारी छ । अनौठो परिरघटना भइरहेको छ । जन्मिसकेको बच्चालाई फेरी आमाको गर्भमा लगिदिने अनौठो परिघटना तपाईहरुले देख्नु परेको छ । त्यस्तै हुन्छ ? हुने नसक्ने कुरा पनि हुन थालेको छ । केही अनिष्ट हुँदैछ कि देशमा भन्ने कुराको संकेत होइन र ? जन्मेको बच्चालाई फेरी भित्र लगिदिने भनेको के हो यो ? हेर्दै जाउँ अझै केके अस्वभाविक परिघटना देख्नुपर्ने हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२÷०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको बताएका छन् ।
‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । अहिले सबैभन्दा बढी घेराबन्दी संघीय लोकतान्त्रिक परिवर्तन ल्याउन भूमिका खेल्ने ममाथि धेरै ठूलो षड्यन्त्र भइरहेको छ । मैले गहिरोगरी महसुस गरिरहेको छु ।’
उनले दलित, जनजातिका लागि जति अधिकारको रक्षाका लागि जरुरी परेमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफूहरुले रक्षा गर्ने बताएका छन् ।
‘जरुरी पर्यो भने आन्दोलनको आँधिवेरी आउनसक्छ । झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्र र सबै उत्पीडित वर्ग जातिको उन्मुक्तीका निम्ति लडेर आएका नेपालीलाई त्यो मान्य हुँदैन’, उनले भने, ‘मैले फेरी हिंसामा जाने कुरा गरेको होइन । कसैलाई भ्रम नपरोस् । हामीले लडेर स्थापित गरेका मान्यता र प्रणालीहरुलाई प्रतिगामी वा प्रतिक्रियावादी शक्तिहरुले कुल्चिन नपाओस् । शान्तिपूर्ण ढंगले एउटा रंगिन क्रान्ति गर्नैपर्ने हुन्छ ।’




प्रतिक्रिया