कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन, खेल हामीले नै जित्छौंः शिक्षामन्त्री श्रेष्ठ

कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन, खेल हामीले नै जित्छौंः शिक्षामन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले भन्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गरे । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए ।

उनले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्दै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । अब ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उनले बताए ।

व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताए ।