काठमाण्डु –माअोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा अोली नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।
आइतबार केन्द्रीय कमिटीको बैठकमा आफ्ना धारणा राख्दै उपाध्यक्ष श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नु नै अहिलेको आवश्यकता भएको बताएका हुन् ।
उनले जसपाका कुनै पनि पक्षलाई आक्रमण नगर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा भित्र्याउन पहल गरिरहेकाले माओवादी केन्द्र थप चनाखो हुनुपर्ने उनको भनाई छ ।
‘कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर केपी ओलीको सरकारलाई ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य आवश्यकता हो । किनकि, वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ । त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार यो सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने हो’ उनले भने ।
उनले आफ्नै पार्टीका नेताहरुबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई प्राप्त अवसर गुमाउने काम भएको आरोप लगाए ।




प्रतिक्रिया