खोप आउन ढिला हुँदा नेपाललाई दैनिक १ लाख ३६ हजार घाटा, कहिले आउँछ ?

खोप आउन ढिला हुँदा नेपाललाई दैनिक १ लाख ३६ हजार घाटा, कहिले आउँछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्याप्त खोप नहुँदा नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने देखिएको छ ।विश्वभर कोरोना भाइरस महामारी सुरु भएको करिब १ वर्षपछि सरकारले माघ १४ देखि नेपालमा कोरोना खोप अभियान सुरु गरेको थियो ।

कोरोनाको पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिन र उमेर समूहका आधारमा खोप सेवाको दायरा बढाउन पर्याप्त खोप नभएसँगै खोप अभियान प्रभावित हुन सक्ने देखिएको स्वास्थ्यविद डा रवीन्द्र पाण्डेले बताए । उनले महामारीको समयमा खोपको सिद्धान्त पालना नगरे खोपको कुनै अर्थ नहुने समेत बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेको थियो । उक्त डोज खोपमध्ये १० लाख डोज पठाइसकेको छ भने बाँकी १० लाख डोज कहिले आउने हो भन्ने अझै टुंगो लाग्न नसक्दा खोप अभियान नै प्रभावित हुने हो कि भन्ने अन्योल बढेको छ।

नेपालमा हालसम्म कोभिशिल्ड खोपको आयात २३ लाख ४८ हजार डोज रहेको छ । जसमा भारतबाट अनुदानस्वरुप १० लाख डाेज, सरकारले भारतबाटै किनेर ल्याएको १० लाख र कोभ्याक्सबाट आएको ३ लाख ४८ हजार डोज खोप रहेको छ ।

खोप अभियानअन्तर्गत हालसम्म १५ लाख भन्दा बढी मानिसहरुले खोप लगाईसकेका छन् । खोप दुई डोज लगाउनुपर्छ । सरकारले पहिलो चरणमा खोप लगाएकाहरुलाई १० देखि १२ हप्तासम्म तोकिएको केन्द्रमा गएर खोप लगाउन भनिसकेको छ ।

खोप अभियानको पहिलो चरणमै खोप लगाउनेहरूले ढिलोमा अबको ६ हप्ता अर्थात् डेढ महिनाभित्र दोस्रो डोज लगाइसक्नुपर्छ । पहिलो डोज खोप लगाएकाहरुका लागि १२ हप्ताभित्र दोस्रो डोजको खोप लगाउने योजना बनाएको सरकारसँग दोस्रो डोजका लागि पर्याप्त खोप छैन । खोप निर्माता कम्पनीले समयमै खोप पठाउन आनाकानी गरिरहेको छ ।

यस्तो अवस्थामा पहिलो डोज खोप लगाएकाहरु प्रभावित हुने देखिएको छ । दोस्रो डोज खोप लगाउनुपर्नेहरुका लागि आवश्यक खोप ल्याउने प्रयास सरकारले गरिरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । उनले दोस्रो चरणको खोप लगाउने समयसम्म सरकारले खोप ल्याइसक्ने बताए ।

खोप नआउँदा नेपाललाई घाटाः

सरकारले खरिद गरेको १० लाख खोप नआउँदा एक दिनको १ लाख ३६ हजार ९ सय रुपैयाँ घाटा लागिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते नै अग्रिम भुक्तानी गरेको थियो ।

मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रति एक डोज खोपको ४ डलरका दरले एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । तर, सेरमले गत फागुन ९ गते १० लाख डोज खोप मात्र पठाएको थियो ।

पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सेरमले आजसम्म खोप पठाएको छैन । सेरमले खरिदको खोप पठाउन ढिलाइ गर्दा भुक्तानी भइसकेको रकमको ब्याज भने घाटा लागिरहेको छ ।

सरकारले भारतबाट किनेको ५० करोडको खोप आउनै बाँकी छ । सरकारी काममा वर्षको १० प्रतिशतले ब्याज बढ्छ । यो हिसाबले नेपाललाई हरेक दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ घाटा लागिरहेको छ ।