काठमाण्डु – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल समूहबीच आज भेटवार्ता भएको छ ।एमालेको पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा करिब दुई घण्टा भेटवार्ता भएको थियो ।
पार्टी अध्यक्ष एंवम् प्रधानमन्त्री ओलीको पहलमा ओली र नेपालबीच करिब चार महिनापछि भेटवार्ता भएको हो ।ओलीले नेता नेपालसँग एक्लै बालुवाटारमा भेट्न खोजेका थिए । तर नेता नेपालले आफुले सामुहिक रुपमा नै पार्टी कार्यालयमा भेट्ने भनेपछि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो ।
बैठकमा नेपाल समूहका नेताहरुले फागुन २८ को निर्णय फिर्ता लिन माग राखेको थियो । तर प्रधानमन्त्री ओलीले उक्त माग अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा यस विषयमा छलफल गर्न सकिने जवाफ फर्काएको नेता प्रदिप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
बैठकपछि नेता माधवकुमार नेपालले आफुहरुले राखेको फागुन २८ गतेको निर्णय खारेज गर्ने विषयमा अध्यक्ष ओली सहमत नभएको बताए । नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्याउँ ।’
त्यस्तै उपप्रधानमन्त्री तथा महासचिव ईश्वर पोखरेलले शीर्ष नेताहरुबीच पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भएको बताए । उनले एमालेलाई थप सशक्त बनाउने विषयमा कुराकानी भएको बताए ।
उनले भने, ‘अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको छ । आजको बैठकमा तीनै कुरामा छलफल भयो । अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ । हामी २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेका छौं ।’
नेता रघुजी पन्तले अहिले छलफल जारी राख्ने जानकारी दिदै पार्टीको विधान अनुसार नै अगाडी बढ्नुपर्ने आफुहरुले कुरा राखेको बताए । उनले फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने माग आफुहरुले राखेको बताए ।
त्यस्तै बैठकपछि नेता भीम रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै उपस्थित नेताहरुले आ–आफ्ना कुराहरु राखेको बताए । सर्वोच्चको फैसलापछि अमिल्दो गरि गरिएका निर्णयहरु वैधानिक नहुने आफुहरुले राखेको बताए । रावलले बैठकमा ओलीले फागुन २८ गतेका निर्णयहरु खारेज गर्न नमानेको नेता बताए ।
त्यस्तै बैठकपछि नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पनि फागुन २८ गतेका निर्णयहरु खारेज गर्न अध्यक्ष ओलीले नमानेको बताए । त्यस्तै ओली पक्षका नेता प्रदीप ज्ञवालीले छलफलको आधार तयार भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘खुलस्त छलफल भएका छन् । साझा अवधारण निर्माण गरेका छौं । सर्वोच्चको फैसलापछिको अवस्थालाई अवसरको रुपमा लिएर पार्टी भित्र रहेका अन्तर्विरोधलाई हल गर्नुपर्छ भन्नेमा सहमति कायम भएको छ । आजको छलफल निष्कर्षमा नपुगेपनि साझा धरातल निर्माण गरेको छ । नेपाल पक्षले चैत्र ४–५ गतेका लागि बोलाएको भेला र फागुन २८ गतेको निर्णय फिर्ता गर्नु विषयमा कुरा उठेको छ ।’
नेता ज्ञवालीले फागुन २८ को निर्णयका बारेमा छलफल गर्न सकिने र परिमार्जन गरेर अगाडी बढ्न सकिने बताए । साथै उनले नेपाल पक्षले बोलाएको भेलाले पार्टी एकतालाई सहयोग नगर्ने भन्दै आफुहरुले त्यस्तो भेला नगर्न सुझाव दिएको बताए ।
आजको बैठकमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुबासचन्द्र नेम्वाङलगायतका नेताहरु छन् भने माधवकुमार नेपाल पक्षबाट नेता नेपालसहित नेताहरु भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी भएका थिए ।




प्रतिक्रिया