एमालेभित्र विवादको गाँठो झन् कस्ने यी दुई चट्टानी अडान

एमालेभित्र विवादको गाँठो झन् कस्ने यी दुई चट्टानी अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ नेकपा एमालेभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधिले चिन्तित नेता–कार्यकर्ताका लागि सोमबार बिहान सुखद खबर बाहिरियो । विवादका दुईपक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने खबरले सहमतिको सम्भावनालाई ब्युताएको थियो ।

द्विपक्षीय बैठक सकिँदासम्म सुखद सन्देश प्रवाह भएन । दुबै पक्षले आ–आफ्ना अडान राखेपनि अडानबाट कोही पनि पछि नहट्दा विवाद कायमै रहेको छ ।

दुबै पक्षबीच सहमति हुन नदिने २ वटा अडान रहेका छन् । सर्वाेच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट बिदा भएर एमाले केन्द्रीय कमिटी बैठकको प्रतिक्षामा रहेको नेता नेपाल पक्षलाई झस्काउने गरी गत शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक बस्यो । त्यो बैठकका सबै निर्णय खारेज भएर शून्य अवस्थामा जानुपर्ने माग नेपाल पक्षले राख्दै आएको छ ।

शुक्रबार सबै केन्द्रीय कमिटी सदस्यलाई जानकारी नै नदिई बैठक राखिएको, विधान विपरीत २३ जना केन्द्रीय कमिटी सदस्य मनोनित गरिएको र एकलौटी रूपमा प्रदेश र विभागीय इन्चार्जको जिम्मेवारी परिवर्तन गरिएकोमा नेपाल पक्ष असन्तुष्ट छ ।

बैठकले रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभू साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलम्पाकी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधारी लाल, चन्द्रबहादुर खड्का, झपट बोहोरा, दावा लामा, गौरीशंकर चौधरी, धर्मराज रेग्मी, नवीन रोक्का, दिनेश पन्थी र डम्मर बिष्टलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । प्रदेश इन्चार्जको जिम्मेवारीमा १ नम्बर प्रदेशमा सुवास नेम्वाङ, २ नम्बरमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको थियो ।

ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले शनिबार बैठक राखेर ‘काउन्टर’ निर्णय लियो । शनिबारको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावललाई तोक्यो । यसरी एमालेभित्र विभाजनको स्पष्ट रेखा कोरिँदै गयो ।

सोमबारको ओली–नेपाल भेटले विभाजनको रेखा मेटाउने अपेक्षा थियो । तर सन्देश सुखद आएन । दुवै पक्ष आ–आफ्नो अडानमा चट्टानी रूपमै उभिए । फागुन २८ गतेको बैठकको निर्णय खारेज गर्न ओली पक्ष तयार भएन, बरु चैत ७ गतेको बैठकमा छलफल गर्न प्रस्ताव राख्यो ।

द्विपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौं । फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।’

तर नेपाल पक्ष भने त्यो बैठकका निर्णय खारेज नभएसम्म अर्काे बैठकमा सहभागी नै नहुने अडानमा छ । नेपाल पक्षीय नेता भीम रावलले बैठकपछि भने, ‘फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौं भन्यो तर उहाँहरूले त्यसलाई स्वीकार गर्नुभएन । कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ ।’

ओली पक्षको एकलौटी निर्णयपछि नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । ओली पक्षले कार्यकर्ता भेला स्थगित गर्न बैठकमा आग्रह गरेको थियो । तर २८ गतेको निर्णय खारेज नभई कार्यकर्ता भेला स्थगित नहुने चट्टानी अडान नेपाल पक्षले राख्यो । २८ गतेको कार्यकर्ता भेलाबाट एमाले विभाजनको गाँठो थप कस्ने गरी समानान्तरण कमिटी गठन हुनसक्ने आकलन गरिएको छ ।

नेता रावलले भने, ‘फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छौं ।’ तर ओली पक्षले निर्णय रद्द नगर्ने र नेपाल पक्षले पनि भेला स्थगित नगर्ने अडान लिएका छन् ।

बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘चैत्र ४ र ५ गते आयोजना गरिने कार्यकर्ता भेलाले पार्टी एकतालाई बल पु¥याउँदैन, दूरी बढाउँछ, स्थगन गर्नुस् भन्यौं ।’

सोमबारको बैठकमा ओली पक्षबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सहभागी भएका थिए ।

पार्टीभित्र वार्ताको वातावरण बनेपछि छुट्टै समानान्तरण कमिटी गठनका अभ्यास रोक्ने, कार्यकर्ता भेला स्थगित गर्ने र ओलीले बोलाएको बैठकमा नेपाल पक्ष सहभागी हुने कि नहुने विषय चासोका साथ हेरिएको छ । ओलीसँगको छलफलपछि नेता नेपाल आफूपक्षीय नेतासँग आगामी कदमबारे परामर्श र छलफलमा जुटेका छन् । सोमबार अपराह्न बानेश्वरको अर्याल होटलमा नेपाल पक्षको बैठक भएको छ ।