काठमाण्डु – पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले माधव कुमार नेपालले नेकपा एमाले सकाउन ठूलै षड्यन्त्र अघि सारेको बताएका छन् ।
सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले नेपालको रणनीति समानान्तर कमिटीबाट कार्यकर्ता जम्मा पार्ने र संसदमा प्रधानमन्त्रीविरुद्ध फ्लोर क्रस गरेर पार्टी फुटाउने रहेको दावी गरेका छन् । उनले माधव समूहले गर्न लागेको ४ गतेको भेलाको औचित्य बारे पनि गम्भीर प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्, ‘माधब रणनीति स्पष्ट छ–गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०÷२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन । नत्र ४ गतेको भेला किन ?।’
यसअघि सोमबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूह र नेपाल समूहबीच एमाले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो । भेटवार्तापछि नेपाल समूहले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गर्दै ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजान निर्देशन दिएको थियो ।
नेपाल समूहले चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि नरोक्ने बताइसकेको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने नेपाल पक्षले बताएको हो ।




प्रतिक्रिया