काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यशैलीमाथि असन्तुष्टी जनाएका छन् ।
मंगलबार शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएपछि मन्त्री ज्ञवालीले सभामुखले सदनलाई सुचारु ढंगले अगाडि बढाउन नसकेको बताए ।
उनले सदन सुचारु ढंगले अगाडि जाने हो भने सरकार विजनेश दिन तयार रहेको बताए । तर, सभामुखले विजनेशहरुको अवज्ञा गर्ने र फेरी अरु विजनेस दिएर निरन्तर अगाडि जान सक्छ भन्ने कसरी ढुक्क हुन सक्छौं ? भन्दै प्रश्न उठाएका छन् ।
‘सदन सुचारु ढंगले अगाडि जाने हो भने सरकार तमाम विजनेश दिन तयार छ । तर, दिएका विजनेशहरुको अवज्ञा हुन्छ भने फेरी अरु विजनेस दिएर निरन्तर अगाडि जान सक्छ भन्ने हामी कसरी ढुक्क हुन सक्छौं ?’, उनले प्रश्न गरे ।
सरकारले सदन नचलेको अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री ज्ञवालीले अध्यादेश फिर्ता नहुने स्पष्ट पारेका छन् ।
‘अध्यादेश कसरी फिर्ता हुन्छ ? हुँदैन । सरकारले सदन नचलेको अवस्थामा अध्यादेश ल्याउन सक्छ र त्यसरी प्रस्तुत गरिएका अध्यादेश पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । संवैधानिक दायित्व पनि निर्वाह हुँदैन भने यो प्रश्न हामीसँग होइन सभामुखसँग सोध्नुपर्छ’, उनले भने ।
सरकारले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश–२०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७७, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७७, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश–२०७७ लगायत अध्यादेश संसदमा अलपत्र अवस्थामा छन् ।




प्रतिक्रिया