काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेला गरेर कारबाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार बालुवाटारमा गरिएको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल–झलनाथ खनाल समूहले ४ र ५ गते गर्ने गुटगत भेलामाथि आफ्नो निगरानी रहने बताएका छन् ।
उनले पार्टीमा विधान, नियमावली र दल सम्बन्धी कानुन रहेको भन्दै अनुशासनमा बस्न नेपाल खनाल पक्षलाई चेतावनी दिएका छन् ।
‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,’ उनले भने, ‘भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु । सजग र सचेत गराउन चाहन्छु । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, अझै कति तमसा गर्नुहुन्छ, एक नजर त्यता रहनेछ ।’
नेपाल पक्षले ४ र ५ गते गुटगत भेला राखेको छ । सोमबार धुम्बाराहीमा भएको बैठकमा गुटगत भेला स्थगित गर्न ओली पक्षले नेपाल पक्षलाई आग्रह गरेको थियो । तर, नेपाल पक्षले भने फागुन २८ गतेका सबै निर्णय खारेज गर्न माग गरेको थियो ।




प्रतिक्रिया