काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अोलीलाई कारबाही गरेर देखाउन चुनौती दिएको छ ।
मंगलबार ४ र ५ गते हुने गुटगत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल समूहका नेता योगेश भट्टराईले कारबाहीले पार्टी अगाडि बढ्न नसक्ने भन्दै कारबाही गरेर देखाउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री अोलीलाई इतिहासले कडा कारबाही गर्ने भन्दै दुई थोपा आँशु चुहाउने मान्छे पनि नहुने बताए ।
‘कारबाहीले पार्टी अगाडि बढ्दैन । कारबाहीको कुरा अहंकार पूर्ण कार्य हो । हामी एकपछि अर्को कारबाही खेप्न लामबद्ध छौं । कारबाही गरेर देखाउनूस् । तपाईलाई इतिहासले कडा कारबाही गर्नेछ । त्यो बेला तपाईका लागि दुई थोपा आँशु चुहाउने मान्छे पनि नहोलान्’, उनले भने ।
उनले प्रधानमन्त्री ओलीलाई बाँकी रहेको दुई वर्ष बालुवाटारमा चयनका साथ बस्न पनि आग्रह गरेका छन् । उनले ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले गुटगत भेला गरे कारबाही गर्ने चेतावनी दिएका थिए । बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले गुटगत भेलाबारे निगरानी गर्ने र भेला गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।




प्रतिक्रिया