काठमाण्डु – मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक राखिन् । मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा छलफल गर्न उनले सर्वदलीय बैठक राखेकी हुन् ।
पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियतालाई कतिपयले स्वागतयोग्य भनेका छन् । बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी थिइन् ।
उनले भनिन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले नै प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । त्यपछि उनको चौतर्फी विरोध भएको थियो ।
प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक दल, नागरिक समाजका साथै विभिन्न संघ संगठनहरु दिनहुँ जसो सडक आन्दोलनमा होमिए । उनीहरुले सडक आन्दोलनबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने माग राखेका थिए ।
जसअन्तर्गत सर्वोच्च अदालतले फागुन २३ मा सरकारको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभालाई ब्यूताईदियो । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि धेरैले प्रधानमन्त्री ओलीको राजीनामा माग गरे तर, उनले राजीनामा दिएनन् । यहीबीचमा पागुन १३ गते नेकपा नामको विवादबारे सर्वोच्च अदालतलले फैसला सुनायो ।
सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । अदालतको फैसलासँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ । भने नयाँ सरकार गठनका लागि राजनीतिक दलहरु गृहकार्यमा जुटेका छन् ।
प्रधानमन्त्री ओली भने आफ्नै सरकार जसरी भए पनि टिकाउने खेलमा लागि परेका छन् । यता ओलीको विकल्पमा नयाँ सरकार गठनका लागि दलहरुबीच ठोस समीकरण भने अझै बन्न सकिरहेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समीकरण बनाउने खेल पनि सुरु भएको छ ।
अर्कोतिर प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास पनि तीव्र पारिरहेका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले जसपा र काँग्रेससँग औपचारिक र अनौपचारिक रुपमा छलफल गरिरहेका छन् ।
सत्तारुढ दल नेकपा एमालेमै विवाद चर्किएका बेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पाटो भएको कतिपयको विश्लेषण छ ।
हिजो मंगलबार राष्ट्रपति निवास शितलनिवासमा बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव र नेता राजेन्द्र महतो लगायत शीर्ष नेताहरु सहभागी थिए ।
तर एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल समूहका कुनै नेता सहभागी भएनन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग राष्ट्रपतिको हिजोको छलफलले कस्तो अर्थ राख्यो त भन्ने गम्भीर प्रश्नहरु उठ्न थालेका छन् ।
राष्ट्रपतिले अबका दिनमा अभिभावकीय भूमिका निर्वाह गर्दै अघि बढ्नु पर्ने देखिएको छ । तर मुलुकमा धमिलिएको राजनीतिले राष्ट्रपतिको सक्रियताबाट निकास पाउँछ पाउँदैन त्यो भने हेर्न बाँकी छ ।




प्रतिक्रिया