काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि फागुन २३ गतेदेखि सञ्चालन गरेको अभियान खोप अभाव भएपछि स्थगित भएको हो ।
मन्त्रालयले २० दिनका लागि संचालन गरेको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान १० दिनपछि रोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
दोस्रो प्राथमिकतामा परेकाहरुलाई गत फागुन २३ गतेदेखि खोप अभियान संचालन गर्दा स्वास्थ्य मन्त्रालयले नै सो अभियान दुई चरणमा हुने र पहिलो १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना अनुसार खोप अभियान सुरु गरेको थियो ।
यस्तै खोप अभियानको १० दिन पछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले खरिद गरेको तथा कोभ्याक्स सुविधा अन्तर्गतको नेपाल आउने भनेको खोप समयमा नआएपछि दोस्रो चरणको खोप अभियान स्थगित गरिएको हो ।
सरकारले ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई आज (बुधबार)देखि खोप अभियान संचालन गर्ने तय गरेपनि अन्तिममा खोप नै उपलब्ध नभएपछि अभियान रोकिएको मन्त्रालयले जनाएको छ ।
डा गौतमले फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाइसकेकाहरुको लागि दोस्रो मात्रा लगाउने मिति पनि स्वास्थ्य मन्त्रालयले पछि नै सूचना दिने बताए । तर पहिलो प्राथमिकतामा परी माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा खोपको पहिलो डोज लगाइसकेका व्यक्तिकहरुका लागि भने वैशाख ७ गतेदेखि ११ गतेसम्म खोपको दोस्रो मात्रा दिइने बताए ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै दैनिक संचालन गर्दै आएको प्रेस ब्रिफिङ समेत हप्ताको दुई दिनमा आइतबार र बुधबार मात्र संचालन गर्ने जानकारी दिए ।




प्रतिक्रिया