काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)भित्र सरकारमा जाने विषयमा विवाद उत्पन्न भएको छ । जसपाभित्र सरकारमा जाने विषयमा दुई खेमा देखा परेको हो ।
महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्ने अडान राख्दै आएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरुले कांग्रेस, माओवादी गठबन्धनमा जानुपर्ने अडान लिएपछि जसापभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
महन्थ ठाकुर र राजेन्द्र महतो खेमाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने अडान राखेको छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले कांग्रेस र माअोवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने बताएको छ ।
जसपा नेता मनिष कुमार सुमनले आफूहरु अहिले नै केपी ओलीले नेतृत्व गरेको सरकारको विकल्पमा नरहेको बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा सरकारको विकल्पबारे सोच्न नमिल्ने बताए ।
‘यो सरकार पनि ठिकै त छ । किन नयाँ सरकारको विकल्पमा जानुपर्यो । यो सरकारले नराम्रो के गरेको छ र ?’, उनले भने ।
सरकारका विषयमा कुरा नमिल्दा आजका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगित भएको छ । जसपाका एक नेताकाअनुसार पार्टीभित्र दुई धार देखिएकाले बैठक बस्न नसकेको बताए । सरकारका विषयमा साझा धारणा बनाउनका लागि नेताहरु छलफलमा जुटेका छन् ।
‘सरकारमा जाने विषयमा पहिलो कांग्रेस, माओवादी वा एमालेसँग सहमति हुनुपर्यो । त्यसपछि मात्रै बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ’, ती नेताले भने ।
जसपा नेता मोहम्मद इस्तिहाक राईले तिनै दलसँग जसपाको वार्ता जारी रहेकाले निष्कर्षमा पुगेपछि मात्रै बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी दिए ।
‘तीनै दलसँगको वार्ता निचोडमा नपुगेको र आज भोलीभित्र निचोडमा पुगेपछि बैठक राखेर निर्णय गर्ने भन्नेछ । कांग्रेस, माअोवादी र एमालेसँग निचोडमा पुगेपछि मात्रै बैठक राख्ने निर्णय भएको छ’, उनले भने ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा जाने विषयमा जसपाका तीन वटा विकल्प अघि सारेका छन् ।
‘जसपाबारे जान्नैपर्ने कुराः १.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यकका खेदाउ थाप्ने खेलाडी हैन; बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ! २.गणतन्त्र,. संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन; ३. यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो’, उनले भनेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा अोलीले नेतृत्व गरेको सरकारलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । उनले अोलीले विगतमा पनि धोका दिएका सरकारमा जानु भनेको मधेश आन्दोलन र मधेशी जनतालाई धोका दिनु सरह भएको बताएका छन् ।
‘ओलीसँगको सहकार्यले संघीयता बलियो हुँदैन भन्ने विगतमा प्रमाणित भइसकेपछि मरिहत्ते गरेर के प्राप्त हुन्छ ? यो मधेस आन्दोलनका लागि धोका हुन्छ,’ उनले भने ।
जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाई, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन भए सरकारलाई समर्थन दिन सकिने बताउँदै आएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले भने अहिलेको सरकारले नै आफूहरुका माग पूरा गर्ने भएकाले नयाँ सरकारको विकल्पमा जान नमिल्ने बताउँदै आएका छन् ।
जसपा अहिले कांग्रेस, माअोवादी वा एमालेका लागि निर्णायक बनेको छ । प्रतिनिधिसभामा ३२ सिट रहेको जसपा अोली नेतृत्वको सरकारको पहिलो रोजाईमा परेको छ । जसपा सरकारमा गए प्रधानमन्त्री ओलीले नेतृत्व गरेको सरकार सुरक्षित हुनेछ । त्यस्तै कांग्रेस र माओवादी केन्द्रका लागि पनि जसपा निर्णायक नै बनेको छ । संसदमा ६२ र ४८ सिट रहेको कांग्रेस–माअोवादी केन्द्रका लागि जसपा निर्णायक रहेको छ ।




प्रतिक्रिया