पत्नी ओलीतिर, वामदेव किन खुलेनन् ?

पत्नी ओलीतिर, वामदेव किन खुलेनन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहीबार बोलाएको संसदीय दलको बैठकमा तटस्थ बसेका दुई जना सांसद सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सांसदद्वय लालबाबु पण्डित र तुलसा थापा सहभागी भएका हुन् । उनीहरु नेकपा विभाजन भएपछि तटस्थ अवस्थामा थिए । सर्वोच्च अदालतले फागुन २३ गते एमाले–माओवादी केन्द्र ब्यूँताएपछि पनि उनीहरु कतै खुलेका थिएनन् ।

सांसद थापा उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् । गौतम एकता अभियानमा लागिरहँदा उनी भने खुलेरै अ‍ोली पक्षमा लागेकी हुन् । उनले आफु आधिकारीक पार्टीको पक्षमा रहेकाले बैठकमा उपस्थित भएको बताएकी छन् । वामदेव राष्ट्रियसभा सदस्य हुन भने तुलसा प्रतिनिधिसभा सदस्य हुन् ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ गते महासचिव सहित सबै पद खारेज गरेपछि वामदेव गौतम केन्द्रीय सदस्यमा सिमित भएका छन् । उनले अ‍ोली पक्षले फागुन २८ का निर्णय खारेज गर्न माग गर्दै आइरहेका छन् ।

उनी ओली समूहमा खुल्ने सम्भावना बढेको छ । पार्टीमा आफूलाई सम्मानजनक पद मिलेका खण्डमा ओलीले नेतृत्व गरेको एमालेमा जाने आफू निकटस्थहरुलाई बताउँदै आएका छन् ।

सर्वोच्चको फैसलापछि उपाध्यक्ष गौतमले केपी ओलीसँग मिल्ने सबै सम्भावना सकिएको बताएका थिए । ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, उनले भनेका थिए ।

त्यस्तै उनले मंगलबार आफू निकट नेताहरुको भेला राखेर माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेर पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए ।

‘हिजो मैले एकताका निम्ती दुवै पक्षका कमरेडलाई भेटेर अनुरोध गरें । मैले भने – एकताका निम्ति पहल गरौं । प्रधानमन्त्रीलार्ई भेटेर भनें तपाईले प्रयत्न गर्नुपर्ने हो । वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् । तपाईको प्रयत्न उचित भएन’, उनले भनेका थिए ।

गौतमले भनेजस्तो अहिले नै माओवादी केन्द्र र नेकपा एमाले एक हुने सम्भावना न्यून रहेको अ‍ोली निकट नेताहरुले बताएका छन् । एमाले नेता कर्ण थापाले माओवादी केन्द्रसँग एकता गरेर जान नसकिने बताएका छन् ।