सामाजिक न्याय र सुशासनका मुद्दा समेटेर रास्वपा सचेतक परियारले ल्याए संसदीय रिपोर्ट कार्ड

सामाजिक न्याय र सुशासनका मुद्दा समेटेर रास्वपा सचेतक परियारले ल्याए संसदीय रिपोर्ट कार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र संसदीय भूमिकाको विवरणसहितको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।

२०८३ असोज २९ गते सार्वजनिक गरिएको रिपोर्ट कार्डमा परियारले जनजीविका, सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयलाई संसद्मा उठाएको उल्लेख छ।

रिपोर्ट कार्डमा जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने, विधेयक तथा संशोधन प्रक्रियामा सहभागिता जनाउने र संसदीय दलको सचेतकका रूपमा समन्वयकारी भूमिका निर्वाह गर्ने विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

जनसरोकारका मुद्दामा सक्रियता

रिपोर्ट कार्डअनुसार परियारले सामाजिक न्याय, नागरिक अधिकार, जनजीविका, सहकारी क्षेत्रका समस्या तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थाबारे संसद्मा आवाज उठाएका छन्।

त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, प्रेस स्वतन्त्रता, सामाजिक रूपान्तरण, जलवायु न्याय र ध्वनि प्रदूषणका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएको विवरणमा उल्लेख छ।

कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, दलित समुदायमाथिको ऐतिहासिक विभेदको अन्त्य तथा उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको रिपोर्ट कार्डमा जनाइएको छ। सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकताबारे समेत उनले सदनमा विषय उठाएको उल्लेख छ।

विधेयक संशोधन र नीतिगत बहसमा सहभागिता

परियारको रिपोर्ट कार्डमा विधायिकी प्रक्रियामा सहभागितालाई पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

रिपोर्ट कार्डअनुसार उनले सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि संशोधन तथा टिप्पणी गरेका छन्। त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसम्बन्धी विधेयक र प्रतिनिधिसभा नियमावलीका विषयमा समर्थन, संशोधन वा टिप्पणी प्रस्तुत गरेको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि पनि उनले सदनमा आफ्नो धारणा राखेका थिए। यी गतिविधिले विधेयक र नीतिगत प्रस्तावमाथिको संसदीय बहसमा उनको सहभागिता रहेको रिपोर्ट कार्डले देखाएको छ।

सचेतकका रूपमा समन्वयकारी भूमिका

संसदीय दलको सचेतकका रूपमा परियारले पार्टीको संसदीय भूमिकालाई प्रभावकारी बनाउने, सांसदहरूबीच समन्वय गर्ने तथा दलको नीति र धारणाअनुसार संसदीय गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने जिम्मेवारीलाई प्राथमिकता दिएको रिपोर्ट कार्डमा उल्लेख छ।

संसदीय दलका बैठकमा सहभागिता, विधायिकी कार्यव्यवस्थामा सक्रियता, सांसदहरूबीच परामर्श तथा समन्वय र संसदीय मर्यादा एवं प्रक्रियाको पालना उनको कार्यविवरणमा समेटिएका छन्।

संसदीय समितिमा सहभागिता

रिपोर्ट कार्डमा संसदीय समितिका बैठक तथा छलफलमा सहभागितालाई पनि स्थान दिइएको छ। कानुन निर्माण, न्याय र मानव अधिकारसँग सम्बन्धित विषयमा समितिगत छलफलमा सक्रिय तथा रचनात्मक सहभागिता जनाएको विवरण प्रस्तुत गरिएको छ।

समितिमा हुने छलफलमार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थाको समीक्षा र नीतिगत विषयमा योगदान पुर्‍याउने भूमिकालाई पनि उनको संसदीय कार्यको महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरिएको छ।

सामाजिक तथा सार्वजनिक बहसमा सहभागिता

संसदीय गतिविधिबाहेक परियारले सामाजिक रूपान्तरण, साहित्यिक बहस, उपन्यास विमोचन, शैक्षिक परामर्श र राजनीतिक दलहरूसँग सम्बन्धित छलफलमा संसदीय दलको प्रतिनिधिका रूपमा सहभागिता जनाएको रिपोर्ट कार्डमा उल्लेख छ।

रिपोर्ट कार्डले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा परियारको भूमिका जनसरोकारका मुद्दा उठाउने, विधेयक निर्माण तथा संशोधन प्रक्रियामा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने र सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहने विषयमा केन्द्रित रहेको देखाएको छ।

सार्वजनिक गरिएको विवरणलाई परियारले आफ्नो संसदीय कामकारबाही र जिम्मेवारीबारे नागरिकलाई जानकारी गराउने तथा सार्वजनिक जवाफदेहिता कायम गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

Skip This