ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा खनाल नजाने

ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा खनाल नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नजाने भएका छन् ।

नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा आफु सहभागी नहुने जानकारी दिएका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ ।

उनले अध्यक्ष ओलीले एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित रहेको ठहर गर्दै आफू उक्त बैठकमा उपस्थित नहुने बताएका छन् । नेता खनालले सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई राजनीतिक फैसलाको रूपमा लिएको र आफूहरू उक्त फैसला मान्ने भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने बताए ।

‘एमाले पुनःस्थापित हुनुको अर्थ २०७५ जेठ ३ गते अघिको कमिटी क्रियाशील हुनु हो । तर अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित छन् । यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

 ‘नेकपा एमालेको दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अबैधानिक छ । दलका सदस्यहरूलाई बैठकमा नबोलाउने, निषेध गर्ने, दुराग्रहप्रेरित ढङ्गले चल्ने, सदस्यहरूलाई उपस्थित नै नगराउने र फेरि बोर्डमा राखिएको भन्ने हल्ला पिटाउने कार्य गलत छ । हामीलाई आजसम्म पनि बोर्ड गठन गरिएको बारेमा आधिकारिक सूचना र जानकारी आएको छैन ।’

उनले अहिलेसम्म आफूहरूलाई बैठक भनेर कुनै आधिकारिक खबर नआएको भन्दै यो बैठक पार्टीको नभएर एउटा गुट मात्रको भएको ठहर गरेका छन् । ‘आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नहुने कुरा सबैलाई जानकारी गराइन्छ । र गूटगत निर्णय पनि अमान्य हुने कुरा सबैमा सूचित गरिन्छ’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।