काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि गर्ने माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाही गर्ने बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको निर्देशन नमानेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै नेता नेपाल र झलनाथ खनालको समूहलाई कारबाही गर्ने बताएका हुन् ।
ओलीले बोलाएको दलको बैठकमा नेपाल–खनाल समूह अनुपस्थित छन् ।
माधव नेपाल समूहका सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार भने बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुगेकाे सांसद महेश बस्नेतले बताए ।
तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सच्चिएर र आत्मालोचना गरेर आए सोच्ने नत्र कारबाही प्रक्रिया अगाडि बढाउने बताए । साथै उनले व्यक्तिगत रुपमा कुरा राख्न समेत आग्रह गरेका थिए ।
‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । उनले भेलाका अगुवाहरुलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए ।




प्रतिक्रिया