तीब्र गतिमा फैलिँदै कोरोना, नेपालमा फेरि लकडाउन हुन्छ ?

तीब्र गतिमा फैलिँदै कोरोना, नेपालमा फेरि लकडाउन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिणी छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्रगतिमा फैलिँदैछ । पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ८४६ नयाँ संक्रमित फेला परेका छन् भने १९७ जनाको मृत्यु भएको छ ।

नेपालसँगको खुला सीमाना र आवतजावत बढी हुने भएकाले भारतमा कोरोना बढ्दा नेपालमा समेत जोखिम रहन्छ । कोरोना महामारी कम हुँदै गएपछि सरकारले भारतसँगका सीमा नाका खुला समेत गरिसकेको छ ।

भारतमा कोरोना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । ‘विगत केही हप्तादेखि विश्वभर खासगरी छिमेकी देशहरूमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ,’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन र सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दिक अनुरोध छ ।’

सरकारले भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेपछि सर्वसाधारणमा फेरि लकडाउन हुने हो कि भन्ने चासो बढेको छ । फेरि लकडाउन हुने सम्भावना कति छ ?

भारतमा कहाँ–कहाँ गरियो लकडाउन ?

हाल तीब्र रूपमा संक्रमण देखिएको भारतको अवस्था हेर्दा विभिन्न शहरमा लकडाउन र रात्रिकालीन कर्फ्यू जारी गरिएको छ । महाराष्ट्र, पञ्जाब, कर्नाटक, मध्यप्रदेश, राजस्थान राज्यका विभिन्न शहरमा लकडाउन, कर्फ्यू, रात्रिकालीन कर्फ्यू, यातायात सेवा बन्द लगायतका घोषणा गरिएका छन् ।

यसअघि गत वर्ष भारतमा २२ मार्चकै दिन देशभर ‘जनता कर्फ्यू’ गरिएको थियो । त्यसपछि कोरोना संक्रमण बढ्दै जाँदा देशभर लकडाउन समेत गरिएको थियो । संक्रमण घट्दै गएपछि जनजीवन सहज बनाएको भारतमा फेरि संक्रमण बढ्दै गएको छ ।

भारतले कोरोना भाइरस विरुद्धको खोप तयार पारेर सर्वसाधारणलाई लगाइरहेको छ । तर संक्रमण दर घटेको छैन, बरु झनझन् बढिरहेको छ । भारतमा हालसम्म ४ करोड ४६ लाख ३ हजार ८४१ जनालाई कोरोना खोप लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा एकैदिन २५ लाख व्यक्तिलाई कोरोना खोप दिन थालिएको छ ।

नेपालमा फेरि होला लकडाउन ?

खोप अभियान सञ्चालन हुँदाहुँदै पनि कोरोनाको कहर रोकिने देखिँदैन । जानकारहरूका अनुसार खोपले कोरोनाको फैलावटलाई रोक्ने नभई व्यक्तिको शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता विकास गरेर कोरोनालाई परास्त गर्ने मात्रै हो । भारतमा देखिएको तीब्र संक्रमणको असर नेपालमा समेत देखिनसक्ने अनुमान गर्न थालिएको छ ।

गत वर्ष नेपालमा चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरिएको थियो । गत वर्ष नेपालमा संक्रमण तीब्र देखिएको सिजन समेत आउँदैछ । तर सरकारी अधिकारीहरू फेरि लकडाउन हुने/नहुनेबारे यकिन साथ भन्न सकिरहेका छैनन् ।

नेपालमा सामान्य रूपमा कोरोना संक्रमणको अवस्था कायमै रहेको छ । आईतबारको अद्यावधिक विवरण अनुसार नेपालमा ७७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ रहेको छ । जसमध्ये २ लाख ९१ हजार ९२१ संक्रमित निको भइसकेका छन् । कोरोनाले हालसम्म ३ हजार १६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्युदर कम रहेको छ ।

आधिकारिक रूपमा यसै हुन्छ भनेर भन्न नसकिए पनि फेरि लकडाउनको सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ‘लकडाउन गर्न लक्षण सहितका कोरोना संक्रमित धेरै देखिनु र मृत्यु हुने संख्या बढ्नुपर्छ,’ ती अधिकारीले भने, ‘अहिलेकै जस्तो सामान्य संक्रमण देखिएर निको हुने अवस्थामा सरकारले लकडाउन गर्दैन । लकडाउनले आर्थिक गतिविधि ठप्प पार्ने भएकाले बाध्यात्मक अवस्थामा मात्रै लकडाउनको विकल्पमा जानुपर्छ ।’

सर्वसाधारणले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कोरोना फैलिनबाट रोकेमा लकडाउन नहुने ती अधिकारीले बताए । ‘मन्त्रालयको प्रेस विज्ञप्तिमा समेत भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ । सरकारी मापदण्ड पालन गरेमा कोरोना धेरै फैलिँदैन र लकडाउन गर्नु पर्दैन,’ उनले भने, ‘लक्षण सहितका संक्रमित धेरै हुनु, अस्पतालमा ठाउँ बाँकी नरहनु र मृतकको संख्या बढ्नु जस्ता अवस्था आएमा लकडाउन गर्नैपर्ने हुनसक्छ ।’