काठमाण्डु – छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिन थालेपछि नेपाल फेरी झस्किएको छ ।
भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलालगायत ठाउँहरुमा संक्रमण तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि खुल्ला सीमाका कारण नेपाल पनि प्रभावित हुने अनुमानहरु गर्न थालिएको छ ।
आजभन्दा एक वर्षअघि नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि आजकै दिन (चैत्र ११) देखि एक साताका लागि लकडाउन गरेको थियो । त्यसपछि पटक–पटक गरेर देशव्यापी रूपमा गरिएको लकडाउन चार महिनापछि अन्त्य भएको थियो ।
लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो । यो एक वर्षमा आम मानिसको दैनिक सामान्य बन्दै गएको अवस्थामा पुनः विश्वव्यापीरुपमै संक्रमण देखिन थालेको छ ।
छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । कतिपय मुलुकहरुले लकडाउन र निषेधाज्ञाहरु लगाउन थालेका छन् भने भारतमा सरकारले आउँदै गरेको पर्व होलीका कार्यक्रममाथि प्रतिबन्ध लगाइसकेको छ ।
भारतसँगको खुला सीमाका कारण नेपालमा पनि लकडाउन गर्नुपर्ने चर्चा चल्न थालेको छ । नेपालमा कोरोना संक्रमण बढेसँगै सरकारले गतवर्ष चैत ११ गते लकडाउन गरेको थियो । करब ९ महिनासम्म चलेको लकडाउन खुलेको करिब तीन महिना मात्र हुँदैछ । फेरि संक्रमण फैलिए लकडाउन हुने हो कि भन्ने चिन्तासुरु भएको छ ।
यसअघिसम्म नेपालले थोरै मानवीय क्षतिमा कोभिड–१९ को संकटको सामना गरेको भएपनि स्वास्थ्य सुरक्षाका उपाय अपनाइएन भने अवस्था भयावह हुनसक्ने जनस्वास्थ्य विदहरुको अनुमान छ ।
आर्थिक विश्लेषकहरुले दोस्रो पटक लकडाउन गर्नुपर्ने अवस्था आए मुलुकको अर्थतन्त्र धरासायी बन्ने चेतावनी दिएका छन् । यसअघिको लकडाउनले सिर्जना गरेको आर्थिक तथा राजनीतिक संकटका असरहरू अझै जारी नै छन् । जनस्वास्थ्यका क्षेत्रका संकटसँगसँगै शुरु भएका आर्थिक र राजनीतिक संकट उल्टै गहिरिदैं छन् ।
९ महिनासम्म चलेको लकडाउनले नेपालको अर्थतन्त्र नै हल्लाइदिएको थियो । पूँजी बजारको कारोबार पनि करीब ३ महिनामा बन्द अवस्थामा रह्यो । कोरोनाले नेपाली अर्थतन्त्रका मुख्य दुई क्षेत्रहरू पर्यटन र हवाइ क्षेत्रमाथि नराम्रो असर पारेको थियो । हवाई क्षेत्र तँग्रिने अवस्था रहेको भए पनि पर्यटनको अवस्था अझै माथि उठ्न सकेको छैन् । कतिपय देशमा कोरोना संक्रमण अझै रहेको तथा नेपालमा पर्यटकहरुलाई सरकारले आकर्षक प्याकेज ल्याउन नसक्दा पर्यटन क्षेत्र कोमामा गएको छ । पर्यटन व्यावसायीहरुले सरकारले विशेष प्याकेज नल्याएको खण्डमा आफूहरु पलायन हुने चेतावनी दिँदै आइरहेका छन् । सन् २०२१ को दुई महिना (जनवरी र फेब्रुअरी)मा झण्डै १८ हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका छन् ।
आर्थिक वर्ष ७६/७७ का लागि सरकारले १५ खर्व ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोनाका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो ।
विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात् १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ ।
त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा ७५.६६ प्रतिशत अर्थात ८ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो ९ महिनामा भएका लकडाउनका कारण पर्यटन, निर्माण, यातायात लगायत अन्य अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा मानिसहरू बेरोजगार बने । रोजगारीमा ठूलो धक्का पुर्याएको कोरोनाले उत्पादन र उपभोगलाई पनि सँगै प्रभावित बनायो, त्यसको पुनःस्थापनाका लागि अहिलसम्म त्यी क्षेत्रहरू संघर्षरत छन् ।
अहिलेसम्म नेपालमा कोभिड–१९ का दुई लाख ७६ हजार दुई सय ४४ संक्रमितहरू पुष्टी भएका छन् । अहिले एक हजार एक सय २८ सक्रिय संक्रमितहरू रहेका छन् भने कोभिड–१९ संक्रमितमध्ये ३ हजार १९ जनाले जीवन गुमाए ।
कोरोना विरुद्धका सरकारका कामहरू मध्ये सबैभन्दा प्रभावकारी खोप कार्यक्रम देखिएको छ । खोप कार्यक्रम देशभर ३,००० खोपकेन्द्रबाट उपलब्ध गराइएको छ भने देशभर झण्डै ५ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् ।
खोपले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने भएपनि कोरोनाको दोस्रो लहरबाट जोगिन र पूर्ण रूपमा महामारी नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका उपायसहित आर्थिक–सामाजिक गतिविधि गर्नुपर्नेछ ।
भारतमा ह्वात्तै बढे संक्रमित
भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो । सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो । भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ ।
खोप लगाएका कति सुरक्षित ?
भारतमा संक्रमण तीव्र फैलिएपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र काम नगर्न आग्रह गरेको छ ।
गत वर्षजस्तै भारतबाट आउनेको माध्यमबाट संक्रमण भित्रिने जोखिम बढेको भन्दै समयमै सजगता अपनाउन चिकित्सकहरूले समेत अनुरोध गरेका छन् । तर, कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खासै असर नपार्ने विज्ञहरु बताउँछन् ।
वरिष्ठ भाइरोलोजिस्ट डा. जनक कोइरालाले खोप लगाएकाहरुमा एण्टिबडी उत्पादन भइरहेकाले पुरानो कोरोना भाइरसले खासै असर नपार्ने बताए । उनले भने, ‘खोप लगाएकाहरूमा एन्टिबडी उत्पादन भइसकेकाले पुरानो भाइरसले खासै असर नपार्न सक्छ । संक्रमण भइहालेमा सामान्य लक्षणमा सीमित रहन्छ । तर, म्युटेड भएर आएका नयाँ भाइरसविरुद्ध खोप र शरीरको एन्टिबडी प्रभावकारी नहुन सक्छ । त्यसैले नयाँ भेटियन्टबारे सचेत हुने बेला भइसकेको छ ।’
सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला भन्छन्, ‘नेपालमा संक्रमण नियन्त्रणमा आए पनि शून्यमा झरेको छैन । भारतमा नयाँ भेरियन्ट फैलिएको आशंका गरिएकाले नेपालसम्म आइपुग्न समय लाग्दैन । भाइरसको प्रकृति पत्ता लगाउन सक्ने हामीसँग सुविधा पनि उपलब्ध छैन, मापदण्ड पालना भइरहेको छैन, समयमै सजग नहुने हो भने नेपालमा पनि संक्रमणको दोस्रो लहरको आशंका गर्न सकिन्छ ।’
सीमामा छैन सतर्कता
पूर्वीनाका काँकडभिट्टाबाट स्वदेश फर्कनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैनिक १२ सय नेपाली भित्रिन थालेका छन् । नेपाल फर्कनेको संख्या बढे पनि नाकामा खासै सतर्कता अपनाइएको छैन । त्यस्तै पछिल्लो तीन दिनमा वीरगन्जमा २० जनामा कोभिड– १९ संक्रमण पुष्टि भएपछि प्रशासन सतर्क भएको छ । नयाँ संक्रमण देखिएकाहरूको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाउने निर्णय गरेकोे छ ।
सतर्कता अपनाउने प्रयासस्वरूप भैरहवाको बेलहियामा हेल्थ डेस्क स्थापना भएको छ । भारतबाट आउनेको सामान्य रूपमा ज्वरो नाप्ने गरिएको छ । रोजगारी गरी फर्किनेको संख्या दैनिक दुई सय पचासको हाराहारीमा छ । तर, भारतीय बजारमा ओहोरदोहोर गर्नेको भने कुनै सतर्कता छैन ।
भारतबाट आएका नेपालीमा संक्रमण देखिएपछि सरकारले नाकामा कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । तर, नेपालगन्ज उपमहानगरले अहिलेसम्म जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छैन ।
रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । सुदूरपश्चिमेलीहरूको मौलिक पर्व बिसु र चैतेअष्टमी मनाउन यतिवेला घर फर्किनेहरूको संख्या बढेको प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए । उनले फर्किने सबैको नाकामा स्वास्थ्य परीक्षण हुन नसकेको बताए ।




प्रतिक्रिया