सांसद् सिंहको टिप्पणी-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

सांसद् सिंहको टिप्पणी-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने टिप्पणी गरेका छन् ।

राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाएको सन्दर्भमा उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे त्यसलाई रोक्नु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् ।

‘दुईतिहाइ बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले लेखेका छन् ।

सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको जिकिर गरेका छन् ।

संसदीय समितिको भूमिकालाई लोकतन्त्रको सुन्दरता र संसदीय गरिमासँग जोड्दै उनले सरकारका निर्णयमाथि निगरानी राख्नु लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।

‘लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ। यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले लेखेका छन् ।

Skip This