काठमाण्डु – डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाण्डु लगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न वनमा लागेको डढेलोको धुवाँ र धुलोका कारण वायु प्रदूषण बढेको हो। अहिले उपत्यका आसपास, धादिङ, हेटौंडा, चितवन, पोखरा, तनहुँ, नवलपुर, गोरखा, खोटाङ, ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत जिल्लाका वनमा डढेलो लागेको छ।
काठमाण्डु उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ। यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।
वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शुक्रबारको तुलनमा शनिबार काठमाण्डुको वायु प्रदूषणमा हल्का कमी आएको बताए। मौमसविद्हरूले सोमबारदेखि मात्र काठमाण्डुको आकाशमा देखिएको धुवाँ, धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन्।
मौसमविद् मञ्जु भासीले पनि शुक्रबारको तुलनामा शनिबार प्रदूषणमा थोरै कमी आए पनि काठमाण्डुको वायु प्रदूषण मानव जीवनका लागि अझै हानिकारक रहेको बताइन्। ‘शुक्रबारको तुलनमा शनिबार केही थोरै कमी भए पनि मानव जीवनका लागि अझै हानिकारिक नै छ,’ उनले भनिन्। वातावरणविद्ले यसबेला सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सल्लाह दिएका छन्। निस्कनै परे मास्क लगाउन उनीहरूको सुझाव छ।
धादिङ, चितवन, मकवानपुर जिल्लाका वनमा लागेको डढेलोले धादिङको वायुमण्डल पनि धुवाँमय बनेको छ। डढेलोले एकातिर वन विनाश र अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ। डढेलोका कारण धादिङ सदरमुकाम आसपास क्षेत्रमा बाक्लो तुवाँलोले ढाकेको छ। चितवन, मकवानपुरको वायुमण्डल पनि प्रदूषित बनेको छ।
धादिङमा पछिल्लो एक महिनामा ३ हजारदेखि ३२ सय हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत देवीप्रसाद पौडेलले बताए। ‘पछिल्लो समय सामुदायिक वनमा डढेलो लागेको सूचना आइरहेको छ,’ सहायक वन अधिकृत पौडेलले भने, ‘धादिङबेंसी आसपास, सिद्धलेक, नौबिसे, गल्छी, बेनीघाट, सल्यानटारलगायत क्षेत्रका वनमा डढेलो लागेको छ।’-यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया