काठमाण्डु – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारदेखि उपत्यकावासीको घरघरमा पुगेको छ ।
गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गरिएको हो ।
पहिलो चरणमा चार करोड लिटर पानी धारामा छोडिएको छ । आज छोडिएको पानी महांकाल, अनामनगर, मीनभवन र खुमलटार क्षेत्रमा वितरण हुने केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि आज पहिलो चरणमा काठमाण्डु जिल्लाका सिमित ठाउँमा मात्रै पानी पठाइएको हो ।
उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।
खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ । आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।




प्रतिक्रिया