सबै धारामा मेलम्चीको पानी पुर्‍याउन सात महिना लाग्ने

सबै धारामा मेलम्चीको पानी पुर्‍याउन सात महिना लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन् । पानी वितरण भने काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट भइरहेको छ । केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ ।

अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन् । सोमबार बबरमहलदेखि उत्तर र पुरातत्त्व विभागको दक्षिणतर्फको धोबीखोलासम्म २ सय घरमा चौबीसै घण्टा आउने गरी पानी छाडिएको थियो । पानी आएपछि उत्साहित स्थानीय कतै पाइप लिकेज देखिए तिनको मर्मतसम्भारमा जुटेको उनको भनाइ छ । अहिले २ सय २० किमि क्षेत्रको पाइपमा परीक्षणको काम भएको छ ।

‘नयाँ सिस्टम पूरा भएपछि पुरानो सिस्टम मूलबाटै काटिदिन्छौं, त्यसपछि नयाँ सिस्टम लागू हुनेछ,’ श्रेष्ठले भने । नयाँ सिस्टममा १ लाख १० हजार धारा बन्नेछन् । महाराजगन्ज, बसपार्क, विशालनगर, छाउनी, बाफल, स्वयम्भूलगायत केही क्षेत्रमा अझै नयाँ पाइप विस्तारको काम भएको छैन । ‘असोजमा ठेक्का सम्झौता भएर काम भइरहेको छ,’ उनले भने, ‘रिङरोड क्षेत्रमा दुई वर्षभित्र सबै नेटवर्कबाट चौबीसै घण्टा पानी आउने गरी काम भइरहेको छ ।’

नयाँ प्रणालीबाट पानी नआउँदासम्म केयूकेएलको अन्तरिम व्यवस्थापनअन्तर्गत मौजुदा प्रणालीबाट वितरण हुनेछ । ‘सबै ठाउँमा नयाँ सिस्टमबाट पानी आउन दुई वर्ष लाग्नेछ,’ श्रेष्ठले भने, ‘जुन प्रणालीमा सबै गरेर १ लाख ८० हजार धारा हुनेछन् ।’-यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।