काठमाण्डु – नेकपा एमालेको सस्थापक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेपछि पार्टीमा हंगामा मच्चिएको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले चैत ८ मा सस्थापन पक्षले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबार नेताद्धय नेपाल र रावललाई पार्टीबाट ६–६ महिनाका लागि निल्मबन गरेको घोषणा गरेका थिए ।
नेकपा एमालेमै रहेर समानान्तर गतिविधि गर्दै आएका उनीहरुलाई अध्यक्ष ओलीले नसच्चिए थप कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
ओलीको घोषणालगत्तै नेपाल समूहले ओलीको उक्त कदमको कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ ।
कसले के भने ?
सस्थापक अध्यक्ष ओलीले गरेका निर्णयहरुको माधव कुमार नेपाल समूहले कडा विरोध गर्दै आइरहेका छन् । सोमबार ओलीले गरेको घोषणा लगत्तै नेता नेपालले ओलीको विरुद्धमा अब देशव्यापी अभियान नै चलाइने भन्दै उनले देशैभरिका कार्यकर्ताहरूलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।
नेता नेपालले केन्द्रिय अध्यक्षका रुपमा काम गर्ने अधिकार ओलीमा नभएको भन्दै उनले आफुहरुलाई कारबाही गर्ने अधिकार ओलीमा नभएको बताए ।
‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन, यसबारेमा मलाई जानकारी पनि छैन । ओली एमालेको अध्यक्ष नै होइनन्,’ उनले भने,‘ उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’
त्यस्तै नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् । नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत पृथ्वी गोलो भएको कुरा हेक्का राख्न ओलीलाई चेतावनी दिँदै भनेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो– जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्– पृथ्वी गोलो छ ।’
त्यस्तै नेता योगेश भट्टराईले ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गर्नु ‘कमजोर सत्ताको अन्तिम अस्त्र’ भएको टिप्पणी गरेका छन् ।
नेता भट्टराईले सोमबार राति सामाजिक सञ्जालमार्फत परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् । ‘कार्वाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’ नेता भट्टराईले भनेका छन् ।
त्यस्तै नेता ठाकुर गैरेले पनि कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गर्दै ओलीले एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु गरेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ । नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी संचालन हुनु पर्छ ।’
नेपाल समूहले कारबाहीको चर्को विरोध गरिहरेका बेला ओलीनिकट लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने पार्टी अनुशासनले सबैको हित गर्ने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ ।’
सर्वोचच् अदालतले नेकपा नाम विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि नेकपा एमाले पछिल्लो समय स्पष्ट दुई धारमा विभाजित भएको छ ।




प्रतिक्रिया