काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । भेटमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनबारे कांग्रेसले पहल नगरेको भन्दै सभापति देउवासँग असन्तुष्टी पोखे ।
उनले प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर चाँडै नयाँ सरकार गठन गर्नुपर्ने बताएका थिए । उनले अब केपी शर्मा ओली नेतृत्वकाे सरकालाई समर्थन गर्न नसक्ने भन्दै तीन दलकाे गठबन्धन गरेर नयाँ सरकार निर्माण गर्नुपर्ने बताएका थिए ।
‘संसद विघटनका पक्षमा सबै मिलेर आन्दोलन गरियो । ओलीलाई धेरै समय समर्थन दिन सकिँदैन, सरकारको नेतृत्व लिन अब तपाईं तयार हुनुप¥यो । हाम्रो गठबन्धनमा नयाँ सरकार बनाएर जानुपर्छ,’ प्रचण्डले देउवालाई भने ।
जवाफमा देउवाले माओवादी केन्द्र र कांग्रेस मिलेर मात्रै नयाँ सरकार गठन नहुने र जनता समाजवादी पार्टीको भर नभएको बताएका थिए । उनले जसपाले केपी शर्मा अोली नेतृत्वको सरकारसँग आफ्ना मागहरुका विषयमा वार्ता गरिरहेकाले संयम भएर अघि बढ्नुपर्ने बताएका थिए ।
‘जसपाका मागमा प्रधानमन्त्री ओलीले चासो दिइरहेका छन् । वार्ता भइरहेको छ । कुरा मिल्यो भने जसपाले नै ओलीलाई साथ दिन सक्छ,’ देउवाले भने, ‘हामीले हतार गर्ने तर जसपा एमालेतिर मिल्यो भने फेरि कच्चा खेलमा फसिन्छ । त्यसो नगरौं ।’
सभापति देउवा जसपा सरकारसँग मिल्न लागेकोमा संशकित बनिरहेका छन् । पछिल्लो समय सरकारले जसपाका माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढाइरहेकाले नयाँ सरकार गठन हुन नसक्ने देउवाले आशंका व्यक्त गरेका छन् । सरकारले पनि जसपाका माग पूरा गर्न वार्ता टोली गठन गरेको छ । टोलीले आफ्ना काम अघि बढाइसकेको छ ।
जसपाका माग पूरा गर्नका लागि सरकार र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच वार्ता सुरु भएको हाे । गृहमन्त्री रामवहादुर थापा बादलको संयोजक रहेकाे सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । यता थारुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको रहेका छन् ।
कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ । कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन् ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जसपाका कारण नयाँ सरकार गठनमा ढिलाई भएको बताए । उनले नेकपा एमाले वा कांग्रेस–माअोवादी केन्द्रबीच नयाँ सरकार टिकाउनका लागि जसपा निर्णायक भए पनि आफ्नो हातमा डाडु पन्यु भए पनि जसपा अरुसँगै भिक माग्दै हिँडेको आरोप लगाएका छन् ।
‘आफ्नो हातमा डाडु पन्यु आउँदैछ भने अर्कोको पछि किन लाग्नु कस्तो बुद्धी होला ? आफ्नो हातमा जसपाको समर्थन बिना कांग्रेस, माओवादी केन्द्र वा एमालेको कसैको पनि सरकार बन्दैन । जसपा निर्णायक तहमा छ । अहिले उता(सरकारमा) गएर छलफल गरिरहने हो ? आफ्नो हातमा चिज छ अरुसँग भिक माग्ने ?’, उनले आक्रोश पोखे ।
नेता गजुरेलले माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी नगर्ने बताए । उनले नयाँ सरकार दिन नसक्ने भए किन संसद पुर्नस्थापनाका लागि आन्दोलन गरेको ? भन्दै कांग्रेस र जसपालाई प्रश्नसमेत गरेका छन् ।
‘अहिले हामी त नेतृत्व दाबी गरेका छैनौं । प्रचण्डले पनि संविधानको रक्षा र एजेण्डाको रक्षा मुख्य कुरा हो भनिसक्नुभएको छ । जसको नेतृत्वमा भए पनि फरक छैन् नि । संसद विघटनविरुद्ध एक ठाउँमा उभिएका शक्तिहरुले आफ्नो दायित्व पूरा गर्नुपर्यो’, उनले भने, ‘ होइन भने किन आन्दोलन गवरेको ? संसद विघटन भएको थियो राम्रै थियो त । अब अर्को सरकार दिन नसक्ने भएपछि विघटन स्वभाविक भयो नि । निर्वाचनमा गए पनि अर्को सरकार बनाएर जानुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा अोलीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरुद्धमा सबै राजनीतिक दलहरु एकजुट भए । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापना गरिदिएपछि नयाँ सरकार गठनको खेल सुुरु भए पनि नेताहरु अन्तिम निष्कर्षमा पुग्न सकेका छैनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा खासै चासो देखाएका छैनन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा पनि ओली नेतृत्वको सरकारमा जाने भन्दै उनले सरकार गठनका विषयमा मौनता प्रकट गरेका हुन् ।
सरकार अफ्ठेरोमा नपरेको, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको, जसपाले आफ्ना माग पूरा गरे सरकारलाई समर्थन दिने सार्वजनिक अभिव्यक्ति दिएकाले नयाँ सरकारबारे सोच्न नमिल्ने उनको भनाई छ ।
प्रतिनिधिसभामा कांग्रेसका ६२, माओवादी केन्द्रका ४८ र जसपाका ३२ जना सांसद रहेका छन् । तीन दल मिल्दा संसदमा कूल १४२ जना प्रतिनिधिसभा सदस्य हुन्छन् । किनकी नेकपा एमाले एक्लैसँग १२० जना सांसद रहेका छन् ।




प्रतिक्रिया