काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नहुनुको कारण माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बडुले प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा त होइन भन्ने प्रश्नसमेत गरेका छन् ।
‘संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यस संसदभित्र नदेखिनुको कारण उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ? अथवा नैतिक खतरा पनि उहाँ महशुस गरिरहनुभएको हो ?’ सांसद बडुले प्रश्न गरे ।
उनले प्रधानमन्त्री ओलीमाथि सुरक्षा खतरा नै हो भने गृह मन्त्रालयले थप के–के सुरक्षा व्यवस्था गरेको छ भन्ने जानकारी समेत माग गरेका छन् ।
केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिएका थिए ।
कांग्रेस सांसद बडुले यसबारे गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा जानकारी गराउनुपर्ने माग गरेका हुन् ।
बडुले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । यसमा सत्यता कति छ ? यथार्थ के हो ? उहाँको सुरक्षामा गृह मन्त्रालयले अहिले के के थप व्यवस्था गरेको छ ?’
सुरक्षा खतरा छैन भने नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन प्रधानमन्त्रीले दिएको भन्ने पनि उनको प्रश्न छ । उनले यसबारे यथाशीघ्र प्रधानमन्त्री वा गृहमन्त्री तथा सरकारका प्रवक्ताले संसदमा स्पष्टीकरण दिनुपर्ने ग राखेका छन् ।




प्रतिक्रिया