काठमाण्डु – शेयर बजार बुधवार दोहोरो अंकले बढेको छ । धितोपत्र कारोबारको चौथो दिन सिस्टममा गडबढीको बावजुत पनि वजार ४३ अंकले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४३.३६ अंकले बढेर २६९९.२ को बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसंगै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४८ अंकले बढेर ४६३.५९ को उचाईमा पुगेको छ ।
६ अर्ब रुपैयांको हाराहारीको कारोबार भएको बुधवारको बजारमा २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर खरिद बिक्री भएको थियो । बुधबार बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको सूचकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अझै प्रतिफल बांड्नै बांकी रहेकाले बजारले अझै उचाई लिने सम्भावना रहेको शेयर बजारका एक विश्लेषकले बताए ।
धेरै कारोबार गर्ने कम्पनीहरु
बुधबार महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको थियो । त्यसैगरी जलविद्युत लगानी तथा विकास कम्पनीको ३६ करोड ३७ लाख रुपैयां, अपर तामाकोशीको ३१ करोड ९७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको ३० करोड २६ लाख, नबिल बैंकको २४ करोड ७ लाख र एनआइसी एशिया बैंकको १३ करोड ९० लाख रुपैयां बराबरको शेयर कारोबार भएको छ।
त्यसैगरी रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल (तराई) को ३.१९ प्रतिशत, युनाइटेड इदि मर्दिको ३.१३ प्रतिशत, हिमालयन उर्जाको २.५९ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको २.४० प्रतिशतले घटेको छ।
शेयर बजारका विश्लेषकहरुले बजारको अबको लक्ष्य २८ सय बिन्दु चुम्नु रहेको बताएका छन् । विश्लेषक लक्ष्मी पौडेलले बजारमा वास्तविक बुल आउनै बांकी रहेको भन्दै शेयर बजारले २८ सय बिन्दु छुने दावी गरिन् ।




प्रतिक्रिया