एजेन्सी – भारतीय सञ्चारमाध्यमहरुले नेपालमा नयाँ राजनीतिक दल खोल्न लागेको बताएका छन् ।
बिहीबार भारतीय अनलाइन द हिन्दुले मार्क्सवादी लेनिनवादी वैचारिक लाइनमा नेपालले चाँडै नै नयाँ राष्ट्रिय राजनीतिक मञ्च पाउने उल्लेख गरेको छ । नेता नेपालले नयाँ राजनीतिक दल खोल्ने घोषणा नगरे पनि उक्त अनलाइनले स्रोतको भनाई उल्लेख गर्दै यस्तो दाबी गरेको हो ।
स्रोतको भनाई उल्लेख गर्दै उक्त अनलाइनले नयाँ राजनीतिक समूहको नेतृत्व पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गर्ने उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीसँग विद्रोह गरिरहेका नेता नेपाल कम्युनिष्ट पार्टीलाई समेटेर नयाँ पार्टी खोल्न लागेको उल्लेख गरेको छ ।
फागुन २८ गते प्रधानमन्त्री ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेपछि नेपाल पक्ष रुष्ट बन्दै आइरहेको छ ।
‘प्रधानमन्त्री ओलीले नेकपा–एमालेका वरिष्ठ सदस्यहरूसँग परामर्श नगरी केन्द्रीय समितिको बैठक गरे । यसले देखायो कि उनी आफ्नो वरिपरि अधिकार केन्द्रित गर्ने योजनामा छन् । हामी विश्वास गर्दैनौं कि उनलाई एक्लै नेपालको लोकप्रिय विचारधारा रहेको मार्क्सवादी लेनिनवादी लाइनमा पार्टीको नेतृत्व गर्न दिइनु पर्छ । हामीले प्रदेशहरूमा पुग्न शुरू गरिसकेका छौँ र चाँडै नै नयाँ पार्टीको घोषणा हुनेछ’, नेपाल निकट स्रोतले भन्यो ।
नेपाल पक्षले प्रधानमन्त्री ओली भारतीय समर्थनमा आफ्नो अडानमा स्थीर रहेको आरोप लगाएको छ ।
‘हाम्रो धारणा छ कि ओलीले भारतको समर्थन पाएका छन र उनी सोच्छन् कि सामान्य राजनीतिक प्रक्रिया फेरि सुरु हुन सक्छ । तर, वास्तवमा उनीसँग संख्यात्मक बहुमत छैन र उनी समर्थकहरूको एउटा सानो समूहका नेता हुन् । नेपालको राजनीतिक स्थितिमा अनिश्चितता पूर्ण छ’। नेपाल निकट स्रोतको भनाई उद्धृत गर्दै भनिएको छ ।
नयाँ राजनीतिक मोर्चाको गठनले नेकपा–एमालेको सेक्सनको बिभागलाई औपचारिक बनाउने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले पनि केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा गरिसकेका छन् ।
बिहीबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् ।
नेता नेपालले जिल्लामा संगठित हुन कार्यकर्तालाई निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिएका छन् । उनी नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेका छन् ।
‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं,’ उनले भनेका छन् ।
गत फागुन ११ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेको थियो । अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का दुई राजनीतिक दल पुरानै अवस्थामा फर्किनुपर्ने फैसला गरेको थियो ।
उक्त आदेशले प्रधानमन्त्री ओलीलाई १२० सदस्यसहितको संसदको सबैभन्दा ठूलो राजनीतिक दलको नेता बन्न मदत गरेको छ । पुष्पकमल दाहाल प्रचण्डको नेकपा (माओवादी केन्द्र) सँग ४८ जना प्रतिनिधिसभा सदस्य रहेका छन् ।




प्रतिक्रिया