नयाँ पार्टी खोल्न माधव नेपालको कसरत

नयाँ पार्टी खोल्न माधव नेपालको कसरत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता नेपालले एमालेमा केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्ने तयारी गरेको उनी निकट स्रोतले जानकारी दियो ।

उनले नयाँ पार्टी खोल्ने विषयमा सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका छन् । बिहीबार पोखरामा आफू निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका थिए ।

उनी अहिले संगठन विस्तारका लागि जिल्ला दौडमा रहेका छन् । नेता नेपालले नयाँ पार्टी खोल्ने तयारी स्वरुप जिल्ला तहबाट संगठन विस्तार प्रक्रिया अगाडि बढाएका छन् ।  ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं,’ उनले भने ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरेर तत्कालिन नेकपा एमाले र माअ‍ोवादी केन्द्र ब्यूँताएपछि पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका नेता नेपाल बाध्यताले केपी ओलीसँग मिल्नुपर्ने अवस्था आयो । तर, एमालेमा उनले सोचेजस्तो भएन ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले २०७५ जेठ २ को निर्णयमा फर्किनुपर्ने अडान लिए पनि पार्टीमा उनको माग सुनुवाई भएन । प्रधानमन्त्री ओलीले फागुन २८ गते आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएर संगठन विस्तार गरे । उनले नेपाल पक्षका नेताले पाएको जिम्मेवारी खोस्दै पार्टीका कामकारबाही सुचारु ढंगले अगाडि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यता फागुन २८ का निर्णय आफूहरु नमान्ने भन्दै माधव नेपाल पक्षले सात वटै प्रदेशमा छुट्टै इञ्चार्ज तोकेको छ । जसमध्ये प्रदेश नम्बर १ मा भीम आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल,बागमतीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावल रहेका छन् ।

यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन् ।

नेता नेपाल पक्षका पार्टी विरोधी गतिविधिहरु नजिकबाट नियालीरहेका प्रधानमन्त्री ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्दै ६ महिनाका लागि निलम्बन गरेका छन् । पार्टीले कारबाही गरेपछि उनी नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

उनले छुट्टै पार्टी कार्यालयको खोजि भइरहेको बताइसकेका छन् । नेता नेपालले गत बुधबार आफूनिकट युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताए ।

‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि,’ उनले भनेका थिए ।

आफूले पार्टीमा पटक-पटक अपमान खेपेको बताउने नेता नेपालले जिल्ला कमिटी गठन प्रक्रिया पनि सुरु गरिसकेका छन् । एमालेमा आफ्नो भविष्य नदेखेकाे भन्दै उनले नयाँ पार्टी खोल्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

पार्टीमा आफुहरुसँग परामर्श नै नगरी केन्द्रीय कमिटीको बैठक बोलाएर विभिन्न निर्णयहरु गरेको भन्दै नेता नेपालले प्रधानमन्त्री अ‍ोलीले आफू निकटलाई मात्र अधिकार केन्द्रीत गरेको आरोप लगाउँदै आइरहेका छन् । आफुहरुले प्रदेश र जिल्लामा संगठन विस्तारको काम अगाडि बढाएकाले चाँडै नयाँ पार्टी खोल्ने भारतीय प्रतिष्ठित पत्रिका द हिन्दुले उल्लेख गरेको छ ।

‘प्रधानमन्त्री ओलीले नेकपा–एमालेका वरिष्ठ सदस्यहरूसँग परामर्श नगरी केन्द्रीय समितिको बैठक गरे । यसले देखायो कि उनी आफ्नो वरिपरि अधिकार केन्द्रित गर्ने योजनामा ​​छन् । हामी विश्वास गर्दैनौं कि उनलाई एक्लै नेपालको लोकप्रिय विचारधारा रहेको मार्क्सवादी लेनिनवादी लाइनमा पार्टीको नेतृत्व गर्न दिइनु पर्छ । हामीले प्रदेशहरूमा पुग्न शुरू गरिसकेका छौँ र चाँडै नै नयाँ पार्टीको घोषणा हुनेछ’, नेपाल निकट स्रोतको भनाई उदृत गर्दै हिन्दुले भनेको छ ।

नेपाल पक्षले प्रधानमन्त्री ओली भारतीय समर्थनमा आफ्नो अडानमा स्थीर रहेको आरोप लगाएको छ ।

‘हाम्रो धारणा छ कि ओलीले भारतको समर्थन पाएका छन र उनी सोच्छन् कि सामान्य राजनीतिक प्रक्रिया फेरि सुरु हुन सक्छ । तर, वास्तवमा उनीसँग संख्यात्मक बहुमत छैन र उनी समर्थकहरूको एउटा सानो समूहका नेता हुन् । नेपालको राजनीतिक स्थितिमा अनिश्चितता पूर्ण छ’, स्रोतले भन्यो ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उठाउने बताए । गत चैत ४ र ५ भएको आफू निकट नेताहरुको भेलाले कम्युनिष्ट पार्टीको एकताका लागि पहल गर्ने घोषणा गरेको उनको भनाई छ ।

‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पु¥याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पु¥याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु यही चैत्र ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ,’ बुधबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘साढे चार हजार देखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशिल बनाउने पक्षमा छौं ।’

प्रधानमन्त्री ओलीले संगठन विस्तार र पार्टीका काममा अधयन दिन आग्रह गरे पनि उनले छुट्टै भेला गर्दै आइरहेका छन् । माधव नेपालका पछिल्ला गतिविधिलाई नजिकबाट नियाल्दा उनी नयाँ पार्टी खोल्ने तयारीमा रहेको बुझ्न सकिन्छ ।