रामचन्द्रले कांग्रेस बैठकमा भने ‘तपाई नेतृत्व लिन तयार हुनुहोस, राजेन्द्र महतोलाई म मिलाउंछु’

रामचन्द्रले कांग्रेस बैठकमा भने ‘तपाई नेतृत्व लिन तयार हुनुहोस, राजेन्द्र महतोलाई म मिलाउंछु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व गर्ने विषयमा नेताहरु एकमत भएका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेभित्रको माधव नेपाल समुहले कांग्रेसलाई सरकारको नेतृत्व लिनको लागी आग्रह गर्दै आएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी नेता बावुराम भट्टराई र उपेन्द्र यादवले कांग्रेस सभापति देउवालाई भेटेर असंवैधानिक कदम चालेर संसद विघठनको निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर सरकारको नेतृत्व लिनको लागी आग्रह गरेका थिए । तर, कांग्रेस सभापति देउवाले भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र यसबारेमा सोच्ने धारणा राख्दै आएका थिए ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाकोबीच गठवन्धन बनेको चर्चा थियो । कांग्रेसभित्र समेत देउवा प्रधानमन्त्री ओलीसंग मिलेको आरोप लागेको थियो ।

शुक्रवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा अधिकांश नेताहरुले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला भएको धारणा राखेका थिए । पार्टीको महाधिवेशनको तयारीबारे छलफल गर्न बसेको बैठकमा नेताहरुले कांग्रेसले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने धारणा राखेका थिए । बैठक बस्नुअघि सभापति देउवा वरिष्ठ नेताहरु कृष्ण सिटौला र रामचन्द्र पौडेललगायतको बीचमा छलफल भएको थियो ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री बन्न देउवालाई आग्रह गरेका थिए । उनले सवै पक्षलाई आफुले मिलाउने भन्दै नेतृत्वको लागी मात्र तयार हुन देउवालाई आग्रह गरेका थिए । नेता पौडेलले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई आफुले जसरी पनि मिलाउने बताएको कांग्रेस स्रोतले बतायो ।

बैठकमा पौडेलले भनेका थिए ‘हामीले आज राजीनामा माग्यौं र राजीनामा मागेर मात्र हुंदैन अविश्वासको प्रस्ताव दर्ता नै गर्नुपर्छ । ओलीको बर्हिगमन जरुरी छ । कांग्रेसको नेतृत्वमा नयां सरकार बन्ने पहल कदमी कांग्रेसले गर्नुपर्छ । तीन दल (कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी) बोलाएर तपाई (देउवा) ले छलफल गर्नुस् । र चांडै अविश्वासको प्रस्ताव दर्ता गराएर निकास दिनुपर्छ ।’

बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागी पहल गर्ने निर्णय गरेको छ । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने समेत निर्णय भएको छ ।

कांग्रेस स्रोतले दिएको जानकारीअनुसार कांग्रेस सभापति देउवासहित वरिष्ठ नेताहरु आगामी निर्वाचनसम्म कांग्रेस एक ढिक्का भएर जानुपर्ने पक्षमा अधिकांश नेताहरु एकमत भएका छन् । ‘कम्युनिष्टहरु फुटेको बेला हामी एकजुट भएर जानुपर्छ, सवैले कांग्रेसका कारण नयां सरकार बन्न सम्भव नभएको भनेपछि हामीले यो निर्णय गर्नुपरेको हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

कांग्रेसले सरकारको नेतृत्वको दावी गर्ने निर्णय गरेसंगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ । तर, जनता समाजवादी पार्टीभित्र कांग्रेस नेतृत्वको सरकारमा जाने बारेमा प्रष्ट दुई धार छन् । नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झालगायत कांग्रेसको नेतृत्वमा जान तयार छैनन भने बावुराम भट्टराई र उपेन्द्र यादव कांग्रेसकै नेतृत्वमा सरकारमा जानुपर्ने पक्षमा छन् ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीसंग मिलेको आरोप लागेकाले कांग्रेसले यो निर्णय लिन बाध्य भएको कांग्रेसका एक नेताले बताए । तर, कांग्रेसको निर्णय त्यो आरोपलाई गलत सावित गर्न मात्र भएको उनको भनाई छ ।