काठमाण्डु – सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो, तस्वीर र सामग्री सार्वजनिक गरी चरित्र हत्या गर्न खोजिएको भन्दै नेकपा एमालेका ५ जना नेताले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् ।
अमेरिकी परियोजना एमसीसी लगायतका विषयलाई आवरण बनाएर पार्टीभित्र विग्रह र विभाजन ल्याउने उद्देश्यले आफूहरूलाई ‘विदेशीबाट परिचालित’ भएको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबूकमा घृणा र द्वेष फैलाउने सामग्री पोस्ट गरिएको निवेदकहरूको दाबी छ ।
उनीहरूले यस्ता सामग्रीमार्फत व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने प्रयास भएको भन्दै साइबर ब्यूरो भोटाहिटीमा औपचारिक निवेदन दर्ता गराएका हुन् । निवेदकहरूले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही गर्न माग गरेका छन् ।
निवेदन दिनेहरूमा पाल्पाको एमाले नेताहरू ठाकुर प्रसाद गैह्रे, गजेन्द्र प्रसाद थपलिया, उषाकिरण तिम्सेना, रचना खड्का र झपटबहादुर रावल रहेका छन् ।
निवेदक नेताहरूले विचार र राजनीतिक बहसमा असहमत भएपछि भ्रामक प्रचार तथा चरित्र हत्या गर्ने गतिविधि अपनाइएको आरोप लगाएका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्याउने तथा घृणा र द्वेष फैलाउने गतिविधिविरुद्ध कानुनी उपचार खोजिएको निवेदकहरूको भनाइ छ ।




प्रतिक्रिया