साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ ।

प्रस्तावित राजदूत सुनारमाथि परेका महिला हिंसा, धम्की र पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दु:ख दिएको आरोप सम्बन्धमा बुधबार छलफलपछि समितिले नाम अस्वीकृत गरेको हो ।

सरकारले प्रस्ताव गरेको नामलाई संसदीय समितिले अनुमोदन गरेपछि मात्रै नियुक्त हुने व्यवस्था छ ।

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दु:ख दिएको आरोपसहित २ वटा उजुरी परेको बताइएको छ । सुनारको सुनुवाइका क्रममा सांसदहरूले उनको नैतिक चरित्र र राजदूत पदका लागि उपयुक्ततामाथि प्रश्न उठाएका थिए ।

सांसद वर्षमान पुनले उनलाई नाम फिर्ता लिन सुझाव दिएका थिए । एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरा लगायतले पनि सुनारमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए ।

सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गर्दै सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको बताएका थिए । अहिले राजदूतमा सिफारिस भएपछि पुरानो विषय उचालिएको दाबी गर्दै उनले आफूमाथिका आरोप सुनियोजित भएको बताएका थिए ।

उनले जर्मनीमा अनुवादकका रूपमा जाँदा ओभरस्टे भएर डिपोर्ट भएको भन्ने आरोप पनि अस्वीकार गरेका थिए । आफूले कुनै हिंसा नगरेको र राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान उनले राखेका थिए ।