माग पुरा भए ओलीसंगै सहकार्य गर्ने नभए निर्वाचनमा जाने जसपा अध्यक्ष महन्थको लाईन

माग पुरा भए ओलीसंगै सहकार्य गर्ने नभए निर्वाचनमा जाने जसपा अध्यक्ष महन्थको लाईन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले देशमा उत्पन्न भएको वर्तमान समस्या समाधान भएन भने निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । जनता जान्न चाहन्छन’ कार्यक्रममा बोल्दै नेता ठाकुरले प्रधानमन्त्री ओलीले समेत विश्वासको मत प्राप्त भएन र सरकारलाई समर्थन मिलेन भने ताजा जनादेशमा जाने बताएको पनि उनले खुलासा गरेका छन् ।
‘यो संसदबाट समस्या समाधान भएन, पार्टीहरुको बीचमा सहमती भएन भने ताजा जनादेशमा जानुको विकल्प छैन,पार्टीहरु यिनै हुन,नेताहरु यिनै हुन,समस्याको समाधान भएन भने सबैभन्दा उत्तम विकल्प त त्यही हो नी ।’ अध्यक्ष ठाकुरले भनेका छन् ।

संसदको पुर्नस्थापना भएपछि सत्ता समिकरणमा निर्णायक रहेको जसपाका अध्यक्ष ठाकुरले जसपाभित्र कुनै विवाद नभएको र यही कारणले पार्टी समेत विभाजन नहुने दावी गरे ।

उनले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न नसकिने समेत स्पष्ट संकेत गरेका छन् । जसपाभित्र नेताहरु उपेन्द्र यादव र बावुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागी नहुने पक्षमा छन् । तर, ठाकुरलगायत बहुमत नेता भने प्रधानमन्त्री ओलीसंगै सहमती गरेर जाने पक्षमा छन् । ठाकुरले समेत आफ्ना माग प्रधानमन्त्रीले सक्ने जति पुरा गर्ने प्रतिवद्धता जनाएको भन्दै गठवन्धनको सरकारमा जानुभन्दा ओलीसंगै मिलेर जानुपर्ने भनाई राख्दै आएका छन् ।

जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली जसपाको माग पूरा गर्न तयार रहेकाले ओलीसँगै सहकार्य गर्ने पक्षमा आफु रहेको उनले बताए । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने भन्दा पनि आफ्नो प्राथमिकता भने मधेष मुद्दाहरुको समाधान गर्ने रहेको स्पष्ट पारे ।

जसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व आफूहरूले पनि पाउनुपर्ने बताए । उनले ओलीले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विश्वास समेत गरेका छन् ।

जेलमा रहेका नेताहरूको मुद्धा फिर्ता, संविधान संशोधन, नागरिकता, जातीय आधारमा राज्य पुनःसंरचनालगायतका माग आफूहरूको रहेको ठाकुरले बताएका छन् । संविधानमा केही कुरा आए पनि आन्दोलनका बेला भनिएको जातीय आधारको राज्य बन्न नसकेको ठाकुरले उल्लेख गरेका छन् । उनले आफ्नै पार्टीका नेता बावुरामप्रति संकेत गर्दै पहिचान सहितको संघियताको मुद्दा उनकै कारण तुहिएको समेत बताए ।

ठाकुरले भने ‘अहिले उहांहरु प्रधानमन्त्री ओलीलाई संघियता विरोधी भन्नुहुन्छ,उहांहरु पनि हिंसात्मक आन्दोलन गरेर आउनुभएको हो,मुद्दा छ पनि भन्नुहुन्छ,तर उहांको मुद्दाले प्रधानमन्त्री बन्न त रोकिएन नी ? तर हाम्रा साथीहरुलाई अफ्ठेरो छ । केपी ओली मात्र त होईन अरु पनि संघियताविरोधी हुन, कसको कारण हिजो पहिचनको मुद्दा तुहियो त्यो सबैलाई थाहा नै छ ।’

कांग्रेससँग सहकार्य नगर्ने बताएका ठाकुरले कांग्रेसभन्दा केपी ओली आफूहरूको माग सम्बोधन गर्न अगाडि देखिएको बताए । प्रधानमन्त्री ओलीले सबै निर्वाचन क्षेत्रमा सडक बनाउन शिलान्यास गरेको विषयको पनि ठाकुरले स्वागत गरेका छन् ।

उनले आफ्ना माग पुरा गर्न प्रधानमन्त्री सहमत भएको भन्दै प्रक्रिया सुरु भइसकेको जानकारी समेत दिए । ठाकुरले माग पुरा नभए जसपा कुनै पनि सरकारमा नजाने स्पष्ट पारे । उनले खाली चेकमा आफुले सही नगर्ने समेत बताए । ‘सवै माग पुरा गर्न प्रधानमन्त्री सहमत हुनुभएको छ । प्रक्रिया समेत सुरु भएको छ । अव माग पुरा भएपछि हामी सरकारमा जाने नजाने निर्णय गर्छौ । अहिले कांग्रेससंग गठवन्धन सरकारमा जानुपर्छ भन्ने उपेन्द्रजी हिजो ओलीजीको सरकारमा सहमती गरेर जानुभएको थियो । सम्झौता के भयो ? ’ ठाकुरले अन्र्तवार्तामा भनेका छन् ।

उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको लाईन स्पष्ट नभएको आरोप लगाए । अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओली निर्वाचित अध्यक्ष र निर्वाचित प्रधानमन्त्री भएको र अहिलेको सरकारमा समेत बहुमत प्राप्त सरकार भएको बताए ।

‘सत्ता घुमिफेरी उहांकै हातमै जान्छ । प्रधानमन्त्री ओलीको लाईन स्पष्ट छ । तर कांग्रेस र माओवादीको लाईन किलियर छैन । माओवादीले गठवन्धन सरकारको कुरा गरेको छ तर समर्थन ओलीलाई दिएको छ । यस्तो पनि हुन्छ । कांग्रेस सभापतिले हिजो एउटा कुरा गर्नुभएको थियो,पार्टीले फेरी सरकार बनाउने कुरा गरेको छ । यस्तो दोहोरो कुराले हुंदैन ।’ नेता ठाकुरले भने ।

जसपाका अध्यक्ष ठाकुरसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार भेटेका थिए । भेटमा ओलीलाई विस्थापित गरेर कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनुपर्ने विषयमा छलफल भएको थियो । तर, ठाकुरले कांग्रेससँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् । उनले सबैभन्दा पहिले आफ्ना माग पुरा हुनुपर्ने अडान राख्दै आएका छन् ।

नयाँ सरकार बनाउन जसपा महत्वपूर्ण शक्ति भएर बसेको छ । जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री जसले दिन्छ उसैलाई सहयोग गर्ने बताए पछि कांग्रेस समस्यामा परेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जसपालाई फकाउंन नेता वर्षमान पुनलाई खटाएपनि सफल हुन सकेका छैनन् ।

यो पनि पढनुहोस-

बाहिर नयाँ सत्ता समिकरणको खेल, भित्र–भित्रै निर्वाचनको तयारी