काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा अोलीलाई बालुवाटारका कोठे बैठक प्रिय लाग्न थालेको आरोप लगाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीलाई संसदमा खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय लागेको बताएकी हुन् । उनले प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् ।
‘प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ’, उनले भनिन्, ‘आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ । नेपालको इतिहासमा पहिलो पटक विभिन्न बहानामा संसद्लाई निष्कृय र विजनेश विहीन बनाइँदै छ । सर्वोच्चले संसद्को पुनःस्थापना गरे पश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसद्बाटै उनको राजीनामा माग गर्दछु ।’
प्रधानमन्त्री अोलीले आफू सत्तामा भएदेखि नै लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप गरेको उनको भनाई छ ।
सांसद संग्रौलाले केपी ओली नेतृत्वको सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको बताइन् ।
‘जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो’, उनले भनिन् ।
सांसद संग्रौलाले भष्ट्राचार र सरकार एकअर्काका परिपूरक भएकासमेत आरोप लगाइन् । उनले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको अडियोटेप प्रकरणबारे कारबाही नगर्नु लज्जास्पद विषय भएको बताइन् ।
‘कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ । यस्तै भर्खरै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आए आफै भन्छन् । कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भष्ट्राचारी सरकार हो । तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशिलता भन्न छोडदैनन्’, उनले भनिन् ।
सांसद संग्रौलाले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले जापान जानका लागि सीओइ लेटर पनि आइसकेको, विश्वविद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्नो विश्वविद्यालयमा पढ्नका लागि योग्यता प्रमाणपत्र पनि आएका थुप्रै नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएकाले जापानसरकारसँग कुटनीतिक वार्ता गरी उनीहरुलाई चाँडो भन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन सरकारसँग माग गरेकी छन् ।
प्रधानमन्त्रीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह भएको उनको भनाई छ ।
‘जनताले आधारभूत स्वास्थ्य, शिक्षा, राम्ररी खान पनि पाइरहेका छैनन् । ठाउँ ठाउँमा लागेको डढेलोले वातावरण प्रदुषित भएको छ । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएको छ । यसको रोकथाम एवं न्यूनिकरणको लागि सरकारको ध्यानकर्षण गराउँदछु’, सांसद संग्रौलाले भनिन् ।
उनले मेलम्चीको खानेपानी तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना र सपना भएकाले उनीप्रति सबैले सम्मान प्रकट गर्नुपर्ने धारणा राखेकी छन् ।




प्रतिक्रिया