सर्वोच्चको फैसलाले मेरो सपना तीन वर्ष पनि जिवित हुन सकेनः प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पूर्ववत् रुपमा फर्किएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा फर्काइदिएर गर्नै नहुने काम गरेको बताए ।

‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो । दुई दल बनाउने दाबी निवेदकको थिएन,’ उनले भने, ‘वाम एकताको लागि मैले गरेको प्रस्तावलाई देशभरबाट समर्थन थियो । तर सर्वोच्चले भन्नै नहुने कुरा भनिदियो । मेरो सपना तीन वर्ष पनि जिवित हुन सकेन । ’

सर्वोच्चले फैसला जस्तो गरेपनि त्यसलाई मान्दिन भन्न नपाउने उनले बताए । प्रचण्डले वाम एकता आफ्नो प्रस्ताव अनुसार भएको उल्लेख गर्दै एमाले र माओवादीको एकताले देशभर उत्साह छाएको स्मरण गरे ।

उनले एकताका सबै सहमति तोड्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोपसमेत लगाए । जनता फेरि जागरुक हुनुपरेको समय आएको उनले बताए । जिल्लाका कार्यक्रममा सहभागी हुँदा ‘अघि बढ, हामी छौं’ भन्ने आशा जनताले जगाइदिएको उनको भनाई थियो ।

प्रचण्डले अब बाँकी जीवन देश विकासमा लाग्ने भन्दै अब गाउँ गाउँ पुगेर जनताहरुको कुरा सुन्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement