दिल्ली आइरहेको एयर इन्डियाको विमानमा बमको धम्की, जयपुरमा आपत्कालीन अवतरण

दिल्ली आइरहेको एयर इन्डियाको विमानमा बमको धम्की, जयपुरमा आपत्कालीन अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जयपुर- जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको विमानलाई बमको धम्की आएपछि राजस्थानको जयपुर विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान नम्बर एआई२०३० लाई बुधबार जयपुर विमानस्थलमा अवतरण गराइएको हो।

बोइङ ७८७–९ विमानमा हाइज्याक भएको आशंकासमेत उत्पन्न भएपछि सुरक्षा निकायले तत्काल सक्रियता बढाएका थिए।

प्रारम्भिक विवरणअनुसार विमानका पाइलटले बिहान ९ बजेर ५ मिनेटतिर आपत्कालीन संकेत दिएका थिए।

विमान मुम्बई फ्लाइट इन्फर्मेसन रिजन (एफआईआर) मा रहेका बेला पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेको बताइएको छ। यो कोड विमानमा अपहरण वा गैरकानुनी हस्तक्षेप भएको संकेत गर्न प्रयोग गरिन्छ।

विमानस्थलमा सुरक्षा सतर्कता

विमान जयपुरमा अवतरण गरेपछि त्यसलाई अन्य विमानबाट अलग राखिने आइसोलेसन क्षेत्रमा लगिएको थियो। घटनापछि जयपुर विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको थियो।

प्रहरीको बम निरोधक टोली, अग्नि नियन्त्रक र अन्य सुरक्षा टोली विमानस्थल पुगेका थिए। राजस्थान प्रहरीका वरिष्ठ अधिकारीहरूले समेत घटनास्थलको अवस्थाबारे जानकारी लिएका थिए।

मालवीय नगरका सहायक प्रहरी आयुक्त शिव दयालले समाचार संस्था पीटीआईलाई विमानमा बमको धम्की आएपछि आपत्कालीन अवतरण गराइएको जानकारी दिएका थिए।

हाइज्याकको आशंका अफवाह

प्रारम्भिक सूचनामा विमान अपहरण भएको आशंका गरिए पनि सुरक्षा निकायको जाँचपछि उक्त आशंका अफवाह साबित भएको भारतीय सञ्चारमाध्यमको समाचारमा उल्लेख छ।

यद्यपि, विमानमा बमको धम्की कसरी आयो र स्क्वाक कोड ७५०० सक्रिय हुनुको वास्तविक कारण के थियो भन्नेबारे विस्तृत आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।

विमानमा कति यात्रु सवार थिए भन्ने विवरण तत्काल उपलब्ध हुन सकेको थिएन। एयर इन्डियाको आधिकारिक प्रतिक्रियासमेत प्रतीक्षारत रहेको समाचारमा जनाइएको छ।