काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आइतबार सुदुरपश्चिममा भएको कार्यक्रममा बोल्दै नेता रावलले निर्वाचित जनप्रतिनिधिलाई धम्की दिँदै प्रधानमन्त्री अोलीले राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका हुन् । आफूहरु एमालेमा रहेकाले प्रधानमन्त्रीले कारबाही गर्न नमिल्ने उनको तर्क छ ।
‘प्रदेश र संघीय सांसद दुईटा अवस्था एमाले छाडेर अरु दलमा गएमा वा राष्ट्रिय महत्वका विषयमा मतदान गर्ने विषयमा ह्वीप उल्लंघन गरेको अवस्थामा मात्रै कारवाही हुन्छ,’ नेता रावलले भने, ‘हामी एमालेमै छौं । जति पनि निर्वाचित जनप्रतिनिधि एमालेमै छ । आफ्नो काम गरिरहेका छन् । नियम धाक धम्की दिएर आफ्नो गुटमा तान्न प्रयास गर्नु गलत छ । राज्यसत्ताको दुरुपयोग हो ।’
प्रधानमन्त्री अोलीले संसद विघटन नगरेको भए एमालेमा यति ठूलो विवाद नआउने उनले बताए । नेता रावलले प्रधानमन्त्रीले बालुवाटारमा बसेर गुट चलाएको बताएका छन् ।
‘प्रधानमन्त्रीले विघटन नगरेको भए एमालेमा सम्भव त यति ठूलो विवाद आउने थिएन,’ उनले भने, ‘प्रधानमन्त्री बालुवाटारमा बसेर गुट निर्माण गर्न, मान्छेहरु धम्क्याउन र कतिपय विभिन्न पदमा रहेका मान्छेलाई तर्साउन उहाँले विभिन्न क्रियाकलाप गरिरहेको मैले सुनेको छु । त्यो निन्दनीय हो । लोकतन्त्रमा त्यो अस्वीकार्य छ ।’
नेता रावलले अवैध महाधिवेशन कमिटी बनाउने केपी ओली अवैध अध्यक्ष भएको बताए ।
‘अवैध महाधिवेशन कमिटी बनाउने ओलीजी अवैध अध्यक्ष हो । उहाँले गरेको अवैध कारवाही पनि सबैका लागि अस्वीकार्य छ,’ उनले भने, ‘मलाई निलम्बन गर्ने उहाँ आफै अवैध, निर्णय अवैध छ । विधान धारा दफा र प्रस्तावनासँग मेल खाँदैन । चिन्तित नहुन पार्टीपंक्तिलाई आह्वान गर्छु ।’




प्रतिक्रिया