ट्रमा सेन्टरमा राज्यमन्त्री रावत बिरामीसँग नबोली हिँडेपछि…

ट्रमा सेन्टरमा राज्यमन्त्री रावत बिरामीसँग नबोली हिँडेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार राष्ट्रिय ट्रमा सेन्टरले एक कार्यक्रमको आयोजना गर्यो । ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट उद्द्घाटन समारोहको आयोजना गरेको थियो । उद्घाटनका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो । बिहान ११ः३० बजेका लागि बोलाइएको कार्यक्रम केही ढिला गरी सुरु भयो ।

ट्रमा सेन्टरको भवनमा भएको कार्यक्रममा राज्यमन्त्री रावतले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट उद्घाटन गर्ने कार्यसूची रहेको थियो । ट्रमा सेन्टरको पहिलो तलामा भएको डिएक्सए स्क्यानरको उद्घाटन सकेर राज्यमन्त्री रावत एम्बुलेन्स र लिक्युडअक्सिजन प्लान्ट उद्घाटन गर्न इमरजेन्सी कक्ष हुँदै ग्राउण्ड फ्लोरमा गए ।

राज्यमन्त्री आएको देखेपछि भुइँमै उपचार गराइरहेका बिरामीको ध्यान उनीतर्फ गयो । तर, राज्यमन्त्री रावतको ध्यान भुइँमा लडिरहेका बिरामीतर्फ भने गएन । मन्त्री रावत हिँडेको इमरजेन्सी कक्षको बाटोको छेउमा भुइँमा सुतिरहेका नुवाकोटका एक बिरामी बोल्न सक्ने अवस्थामा छैनन् । मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको ओठमा काटेको छ । ओठमा ब्याण्डेज गरेका ति बिरामी बोल्न भने सक्दैनन् । तर, को आयो को गयो भनेर  टुलुटुलु हेरिमात्र रहन्छन् ।

तीन दिनदेखि चिसो भुइँमा लडिरहेका ति बिरामी कोरोनाको रिपोर्ट पर्खिरहेका छन् । चिकित्सकले कोरोनाको रिपोर्ट ल्याएपछि मात्रै बेड भर्ना गर्ने बताएको उनका आफन्तले बताइन् । चिसो भुइँमा बिरामीसँगै बसेकी ति महिलालाई लागेको थियो– मन्त्री आएर कस्तो छ बिरामीको अवस्था ? भनेर सोध्लान । तर, वास्तै नगरी राज्यमन्त्री रावत खुइँखुइँ बाहिर निस्किएपछि उनको मन अमिलो भयो । छेउमा रहेका अर्का कैलालीका युवक पनि भुइँमा बसेर उपचार गराइरहेका छन् ।

खुट्टाको उपचार गर्न कैलालीबाट काठमाण्डु आएका उनी चिसो भुइँमा रात काट्न बाध्य छन् । स्वास्थ राज्यमन्त्रीले देखेपछि बिरामीलाई सोध्लान – चिसो भुइँमा बसेर उपचार गर्दा कतिको समस्या भएको छ ? तर, रावतले वास्तै नगरी हिँडेपछि उनको मन खल्लो भयो । उनी भन्छन्, ‘यत्रा भुइँमा लडिरहेका बिरामी देखेर पनि मन्त्रीज्यूले नदेखेजस्तो गर्नुभयो । नराम्रो लाग्यो । कमसेकम एकबचन कसैसँग बोलिदिनुभएको भए हाम्रो मनै हलुँगो हुने थियो ।’

इमरजेन्सी कक्षमा प्रवेश गर्ने ढोकाको कुनामा उपचार गराइरहेकी अर्की बिरामीलाई पनि राज्यमन्त्रीले बोलाइदिए हुन्थ्यो भन्ने मनमा परेको रहेछ । टिकाथलीकी सबिता पराजुलीलाई राज्यमन्त्रीले बिरामीलाई स्वास्थ्य अवस्थाबारे नसोधेकोमा गुनासो रहेछ । खुट्टा भाँचिएर आएकी उनी केहीदिनदेखी इमरजेन्सी कक्षकाे भुइँमै उपचाररत छिन् । ढोकैको छेउमा रहेका कारण पनि आफूसँग भने राज्यमन्त्री रावत पक्कै बोल्छन् भन्ने भान सबितालाई परेको रहेछ ।

‘मन्त्री आउने भनेपछि क्यामरामेनसहित आउनु होला भनेर उत्साहित थिएँ । यही बाटो आएपछि मलाई सोध्नुहुन्छ कि भन्ने लागेको थियो । तर, सोध्नुभएन’, उनको गुनासो छ ।

कोरोना भाइरसको महामारी र वायु प्रदुषण जस्ता कारणहरुले गर्दा देशभरका अस्पतालमा विरामीहरुको चाप बढ्न थालेको छ । देशकै जेठो सरकारी अस्पताल वीर अस्पतालमा पनि बिरामीको चाप बढेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न फ्लूका बिरामीको संख्या बढेको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । ठाउँ अभावका कारण बिरामीहरुलाई भुइँमा राखेर उपचार गराउनुपरेको उनले बताए ।