ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट सञ्चालनमा ल्यायो

ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट सञ्चालनमा ल्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले ‘क’ वर्गको एम्बुलेन्स ८८ लाखमा खरिद गरिएको जानकारी दिए ।

दुर्घटनाका घाइते तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीहरुका लागि क वर्गको एम्बुलेन्स सेवा पनि संचालनमा ल्याइएको जानकारी डा पौडेलले दिए ।

डा पौडेलका अनुसार सो एम्बुलेन्स सेवा हाललाई काठमाण्डु उपत्यकामा रहेका दुर्घटनाका घाइते तथा बिरामीलाई सेवा प्रदान गर्न प्रयोग गरिने छ। आइसियुमा हुने सबै सुविधाहरु रहेको उक्त एम्बुलेन्सलाई मिनि आइसियुको रुपमा लिन सकिने उनले बताए।

डा पौडेलले सो एम्बुलेन्समा एकजना पारामेडिक्स र एकजना नर्सिङ स्टाफलाई पनि खटाइने उनले बताए।

‘प्रिहस्पिटल केयर आवश्यक पर्ने घाइते तथा बिरामीका लागि यो एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो,’ उनले भने, ‘यस्तै आकस्मिक सेवा लिन आएका बिरामीलाई आइसियु भेन्टिलेटर आवश्यक पर्ने भयो र यहाँ बेड भएन भने अर्को अस्पतालमा रेफर गर्दा पनि यो एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । यसले गर्दा बिरामीको बाटोमै मृत्यु हुने जोखिम कम गर्न सकिन्छ ।’

ट्रमा सेन्टरले डेस्का स्याक्नर हड्डी खिइएको समस्या पत्ता लगाउने प्रविधि भएको बताए । उनले पहिलो हड्डी खिइने समस्या पत्ता लगाउने प्रविधि नभएकाले यो नयाँ प्रविधि भएको बताए ।

‘हड्डी खिइएको छ भनेर अन्य स्क्यानहरु मार्फत पत्ता लगाउने गरिएको थियो । तर, कति मात्रामा खिइएको छ भन्ने पत्ता लगाउने प्रविधि थिएन,’ उनले भने, ‘त्यसैले हामीले कति मात्रामा हड्डी खिइएको छ भनेर पत्ता लगाउनकै लागि डेक्सा स्क्यानर जडान गरेका छौं ।’

उनकाअनुसार डेस्का स्याक्नर विशेषगरी हड्डी खिइने समस्याका बिरामीहरुका लागि उपयोगी हुनेछ । ५० वर्ष कटेपछि महिलामा हड्डी भाँचिने समस्या बढि हुने उनले बताए ।

‘महिलामा महिनावारी बन्द भएपछि र पुरुषहरुमा उमेर बढ्दै गएपछि हड्डी खिइने समस्यादेखिन्छ । यो आधुनिक प्रविधि हो । यसको माध्यमबाट मानिसको कति हड्डी खिइएको छ भन्नेकुरा पत्ता लाग्छ’, उनले भने ।

उक्त स्क्यानर आवश्यक पर्ने बिरामीले २ देखि ५ हजारसम्म खर्च तिर्नुपर्ने डा पौडेलले बताए । उनकाअनुसार निजी अस्पतालमा भन्दा सरकारी अस्पतालमा सस्तो पर्नेछ । निजी अस्पतालमा यसको खर्च करिब ८ देखि १० हजार लाग्नेछ ।

‘शरीरको कुन अंगको स्क्यान गर्ने हो वा पूरै शरीर स्क्यान गर्नुपर्ने हुन्छ बिरामीको आवश्यकता अनुसार २ देखि ५ हजारसम्म खर्च पर्छ,’ उनले भने, ‘निजी अस्पतालमा भन्दा कम खर्च बनाउनेछौं । निजीमा ८ देखि १० हजार रुपैयाँ पर्छ ।’

डा पौडेलले डेस्का स्क्यानर सेवा वैशाख १ गतेदेखि सुरु गरिने बताए । उक्त स्क्यानर ७७ लाख ९५ हजारमा लगातमा खरिद गरिएको डा पौडेलले जानकारी दिए ।

डा पौडेलले कोरोना संक्रमणपछि सिलिण्डर अक्सिजन अभावले खरिदमा दोब्बर महंगो समेत तिर्नुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्टको व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले अस्पतालमै ट्यांकर राखिएको सो अक्सिजन प्लान्टमा करिव एक महिनालाई पुग्ने अक्सिजन भण्डारण गर्ने क्षमता भएको बताए ।

अक्सिजन प्लान्टको प्रयोगले अस्पतालमा अक्सिजन सप्लाईमा सहज र सस्तो पर्ने डा पौडेलको भनाइ छ । उनले सिलिण्डर अक्सिजन भन्दा अक्सिजन प्लान्ट सस्तो पर्ने पनि बताए । सिलिण्डर अक्सिजन वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

‘१३ हजार लिटर क्षमताको हो यो ट्यांकर, एक पटक भर्दा एक महिनालाई पुग्छ,’ उनले भने, ‘पहिला दिनमा ७० देखि ८० वटा सिलिण्डर खपत हुन्थ्यो । अब यो प्लान्ट भएपछि सिस्टमले अक्सिजन फ्लो गर्छ, सिलिण्डरमा खर्च हुने वार्षिक ३५ देखि ४० लाख खर्च जोगिन्छ ।’

उनले सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नयाँ प्रयोग भएको दाबी गरे ।