गृहमन्त्री थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी

गृहमन्त्री थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री रामबहादुर थापालाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । माओवादी केन्द्रले थापालाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका हुन ।

हाल प्रधानमन्त्री कार्यालय हेर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना हाल युरोप भ्रमणमा रहेका छन् । तिमिल्सेना स्वदेश फर्केलगत्तै बस्ने राष्ट्रियसभा बैठकमा माओवादी केन्द्रले थापालाई गरेको कार्वाहीको पत्र पेश भएसंगै थापा पदमुक्त हुनेछन् ।

प्रधानमन्त्री ओलीले थापालाई फेरी उप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको निकट स्रोतको दावी छ ।‘पुर्व माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई पनि एमालेमा संरक्षण हुन्छ भन्ने सन्देश दिन पनि उहांलाई थप जिम्मेवारी दिने विषयमा छलफल सुरु भएको छ । चांडै उहांलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

थापाले नेकपाभित्र अन्र्तसंघर्ष उत्कर्षमा भएको बेला प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । त्यसपछि पार्टी विभाजन हुंदा उनि एमालेमा प्रवेश गरको थिए । गृहमन्त्री थापा हाल नेकपा एमालेको वाग्मती प्रदेशको इन्चार्ज समेत छन् ।

प्रतिनिधिसभाको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट चुनावमा उम्मेदवार बन्ने तयारीमा रहेका थापालाई नेकपाका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले रोकेका थिए । पछि उनलाई राष्ट्रियसभा सदस्य हुंदै गृहमन्त्री बनाइएको थियो ।

गृहमन्त्री थापा माओवादी विभाजन नहुंदै पार्टीको महासचिव थिए । पछि माओवादी अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियापछि पार्टीमा प्रवेश गरेका नारायणकाजी श्रेष्ठलाई च्यापेपछि बादलसंग उनको विस्तारै दुरी बढेको थियो ।