काठमाण्डु – काठमाण्डु पुनः विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा परेको छ । मंगलबार बिहान हावाको गुणस्तर मापन गर्ने काठमाण्डुको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३३ रहेको छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।
शिवपुरी क्षेत्र सहित काठमाण्डु आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएका छन् । त्यस्तै दोस्रो स्थानको भारतको नयाँ दिल्लीको एक्यूआई १६६ रहेको छ । हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाण्डु बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविद्ले बताएका छन् ।
प्रदूषण बढेपछि काठमाण्डुमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने जस्ता समस्या दैनिक बढेका छन् ।काठमाण्डुमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाण्डुको प्रदूषण हट्ने सम्भावना छैन । अझै केही दिनयता काठमाण्डुमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डुमा मात्र नभई अन्य शहरहरुमा समेत प्रदूषण अत्यन्त बढेको छ ।
सरकारले चासो दिएन
निरन्तर एक हप्तादेखि वायु प्रदुषण बढेर काठमाण्डु विश्वकै शीर्ष स्थानमा रहँदा समेत सरकारले चासो देखाएको छैन । डढेलो लागेर प्रदूषण बढ्दा चार दिन सबै शैक्षिक संस्थाहरु बन्द गराएको सरकार अहिले लगातार एक हप्ता विश्वकै सबैभन्दा प्रदूषित शहरमा गनिँदा र देशभर प्रदूषण बढ्दा मौन छ ।
बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाको स्वास्थ्यमाथि खेलबाड भएको छ । कोरोना भाइरसको महामारी बढिरहेका बेलामा त्यतासमेत गम्भीर चासो राख्न नसकेको सरकारले अहिलेको प्रदूषणमा पनि वास्ता गरेको छैन ।
के छ सरकारको तयारी ?
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषण न्यूनीकरण गर्न सकिने विषयमा छलफल भइरहेको बताए । ‘गत हप्ताको तुलनामा पानी परेपछि प्रदूषण कम भएको छ तर, फेरि बढ्दै गयो भने सरकारले त्यही अनुसार निर्णय गर्नेछ,’ उनले भने ।
उपत्यकामा अचानक बढेको र बढेकै अवस्थामा रहेको प्रदूषण न्यूनीकरणका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लगाउने, औद्योगिक क्षेत्र बन्द गर्ने लगायतका उपायहरु अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । तर यस्ता निर्णय सहजै गर्न सक्ने अवस्था नरहेको प्रवक्ता जोशीले बताए ।
‘उपत्यकाका औद्योगिक क्षेत्रहरु बन्द गरेर फेरि सञ्चालन गर्दा ठुलो घाटा हुन्छ, यातायात पनि बन्द गर्न सकिने अवस्था रहन्न, कयौं मानिसहरुको अत्यावश्यक काम हुन्छन्, अफिसहरु ठप्प रहन्छन्,’ उनले भने । वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धीत निकायका योजनाकारसमेत नियुक्त गरिएको छ । तर सरकारले नियुक्त गरेका योजनाकारहरुले सरकारलाई प्रदुषण नियन्त्रणबारे कुनै सुझाव दिएका छैनन् ।




प्रतिक्रिया