काठमाण्डु – नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ म यो वर्ष तिनवटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन् ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो, सरिता ११ बर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको बताए ।
महोत्सबका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको छ । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो ।
अब निफमा ६६ फिल्म देखाइनेछन् । माथि उल्लेखित ३ चलचित्र मध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देसक, लेखक, छायाँकार,अभिनेता र अभिनेत्री ट्रफी पाउनेछ ।
‘विश्वका कथाहरुको उत्सब’भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्डपनि वितरण गरिन आयोजकको भनाई छ ।
कोभिड–१९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।
यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिने छ ।
महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाण्डुमा आयोजना हुने छ ।




प्रतिक्रिया