गण्डकीका मुख्यमन्त्री संकटमा, यस्तो छ संसदीय अंकगणित

गण्डकीका मुख्यमन्त्री संकटमा, यस्तो छ संसदीय अंकगणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ ।  बुधबार राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ संटकमा परेका हुन् ।

६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना सांसद रहेका छन् । सरकार बचाउनका लागि मुख्यमन्त्री गुरुङलाई तीन जना सांसदको आवश्यकता परेको छ । जनमोर्चाका तीन जना सांसदले सरकारलाई समर्थन गर्दा मात्रै उनी सुरक्षित हुन्छन् ।

जनमोर्चाले समर्थन फिर्ता लिएपछि कांग्रेस, माअ‍ोवादी केन्द्र र जनमोर्चा को गठबन्धनमा नयाँ सरकार गठन हुने सम्भावना बढेको छ ।

जनमोर्चाले नयाँ सरकारलाई समर्थन गर्ने बताइसकेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारमा सहभागी नभए पनि समर्थन गर्ने बताएका हुन् ।

गण्डकी प्रदेशसभामा कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीको २ जना सांसद रहेका छन् । गण्डकीमा दीपक मनाङे स्वतन्त्र सांसद रहेका छन् । उनले आफू मुख्यमन्त्री बन्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायत अन्य दलहरुको सहयोग मागेका छन् ।

सांसद मनाङेले एमाले नेतृत्वको सरकारका कामकारबाही सन्तोषजनक नभएको भन्दै अब नयाँ सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् । उनले मुख्यमन्त्रीका लागि पृथ्बीसुब्बा गुरुङले आफूलाई भोट दिने दाबी गरेका छन् ।