काठमाण्डु – गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ । अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार राती १२ बजे प्रदेश सरकारको सिफारिस अनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई दिएका छन् ।
गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको थियो । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति पनि भएको थियो । तर, तर अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।
बुधबार राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अबको समर्थन कांग्रेस–माअोवादी केन्द्र नेतृत्वको सरकारलाई दिने अध्यक्ष चित्रबहादुर केसीले बताएका थिए ।





प्रतिक्रिया